रुपन्देही २५ असार । रुपन्देहीमा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमवार पत्रकार सम्मेलन गर्दै चोरीका मोटरसाइकलसहित गिरोहमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पाल्पा, गुल्मी, नवलपरासी र बाग्लुङका विभिन्न भागबाट उनीहरूलाई चोरीका मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका र आसपासको क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने काममा संलग्न भएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरूमा बुटवल–३ ज्योतिनगर बस्ने १९ वर्षीय किशोर, नवलपरासीको रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।यसैगरी २६ वर्षीय दीपक रेगामी मगर, तिलोत्तमा–६ बस्ने २४ वर्षीय दिपेश थापा र २५ वर्षीय हितेस राना रहेका छन् । यस्तै बाग्लुङको वरेङका १९ वर्षीय किशोर, २० वर्षीय दीपक सामत, २९ वर्षीय प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री र तिलोत्तमा–४ का १८ वर्षीय किशोर पनि पक्राउ परेका छ्न ।पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया