प्रदेश

बाढीका कारण देउखुरी क्षेत्रमा दर्जन बढी घर डुबानमा



दाङ, ०९ साउन । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् ।

राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेका दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो । यस्तै लमही नगरपालिका–१ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार वटा घर डुबानमा परेका उहाँले बताउनुभयो ।

सुनडबरीका ७० वर्षीय निमबहादुर सार्कीको घरमा पानी पसेपछि उहाँको दुई जनाको परिवारलाई छोरा छबे सार्कीको घरमा स्थान्तरण गरिएको छ । यस्तै कान्तिपुरका ३६ वर्षीय रामबहादुर कुमालको घरमा पानी पसेपछि उहाँको परिवार छतमा बसेको र उद्धार कार्य भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय ४० वर्षीय सुशील कुमाल र ६० वर्षीय दयाराम चौधरीको दुई तले कच्ची घरमा पानी पसेपछि उनीहरूको परिवार सुरक्षित ठाउँमा पुगेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवम् प्रहरी निरीक्षक (डीएसपी) शंकर श्रेष्ठले जानकारी दिनुभयो । डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि यहाँ १० जनाको प्रहरी टोली खटिएको छ ।

रातिदेखिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड बन्द भएको छ । बाढी आई ठाउँठाउँमा हिलो माटो खसेको हुँदा सडक खण्ड बन्द भएको हो ।

यसैबीच दाङको तुलसीपुरबाट घोराही जाँदै गरेको एउटा जीप खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको जीप बगाएको हो । बाढीले बगाएको जीप निकाल्ने प्रयास भइरहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिनुभयो । जीपमा चालकमात्रै रहेका र उनको उद्धार गरिएको प्रहरीले बताएको छ । दाङमा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६