अर्थ-वाणिज्य

प्रिन्सीपल कार्कीलाई मेडिकल कलेजका विद्यार्थीले किन थुने ?




रुपन्देही २३ असोज । रुपन्देहीको भैरहवास्थिति युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरूले प्रिन्सिपल प्राडा लक्ष्मी पाठकलाई थुनेका छन् । क्याम्पसमा प्रिन्सिपलले अनावश्यक टर्चर दिने गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् भने क्याम्पस प्रमुखले ड्रेस कोर्ड अनिवार्य बनाएपछि विद्यार्थीले यस्तो गरेको जनाएकी छन् ।आन्दोलनरत विद्यार्थीहरुले एक महिनाअघि मात्रै प्रिन्सिपलमा नियुक्त भएकी प्रिन्सिपल पाठकको राजीनामा माग गरेका छन् । उनले नियुक्त भएसँगै सबै विद्यार्थीहरुलाई ड्रेसकोर्ड अनिवार्य बनाएपछि कलेजमा सामान्य एप्रोन लगाएर आउने र निस्कने विद्यार्थीहरु आक्रोशित भएका थिए ।
प्रिन्सिपल भएर आएपछि विद्यार्थीहरूलाई अनावश्यक मानसिक र शारीरिक यातना दिने गरेको विद्यार्थीहरूको आरोप छ । जसले गर्दा उनीहरूले प्रिन्सिपलको राजीनामा माग गर्दै आएका हुन् । तर प्रिन्सिपल पाठकले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूले आफूलाई बन्धक बनाएको आरोप लगाएकी थिइन् ।विद्यार्थीहरूले क्याम्पसमा रातदिन नाराबाजी गर्न थालेपछि उनले सोमबार स्टाटस लेख्दै ‘मलाई बिहान ९ः३० बजेदेखि खाना पानी विना र रेष्टरूमबिना कलेजको अफिसमै रोकेर नाराबाजी गरी राखेका छन् । मलाई मानसिक तनाव पनि दिएका छन् । म यहाँबाट निस्किन चाहन्छु । अहिले त मेरै अफिसको ढोकानिर नै उभिएका छन् । यो अराजक भीडबाट मलाई निकाल्नुहोस् । निड हेल्प, ’ भनेकी थिइन् ।
यो विषयमा विद्यार्थीहरूले कसैले पनि बन्धक नबनाएको आफैंले सामाजिक सञ्जालमा त्यस्तो लेखेको बताएका छन् । विद्यार्थीले उठान गरेका सामान्य समस्या समाधान गर्नुको साटो सामाजिक सञ्जालमार्फत सहयोग चाहियो भन्दै कराउने गरेको विद्यार्थीहरूको आरोप छ ।प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । सुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका हुन् ।

चौथो, पाँचौं र इन्टर्नसिप गर्दै आएका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टनसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गरेका छन् ।केही दिनदेखि युनिफर्मको नाममा क्याम्पसले विद्यार्थीहरूलाई दमन र मानसिक यातना दिँदै आएको आरोप लगाएका छन् । प्रिन्सिपल भएर आएसँगै पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।
चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । उक्त नियमले पहिलादेखि नै धेरै लगानी गरिसकेका विद्यार्थीहरूलाई थप व्ययभार पर्ने भन्दै उक्त ड्रेसकोट अस्वीकार गर्दै आएका छन् ।यो विषयमा कुरा बुझ्न खोज्दा प्रिन्सिपल पाठकले फोन सम्पर्कमा आइनन् । कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङले समस्या समाधानका लागि विद्यार्थीसँग छलफलको प्रयास भएपनि कुनै टुंगो नलागेको बताए । कलेजमा ड्रेसको पहिचान बनाउनु नराम्रो कुरा थिएन, कलेजले एकेडेमिक कोर्डका लागि पहिचान दिन यसो गर्न लागेको हो तर विद्यार्थीको असहमति भयो खै किन हो ?वार्तामा प्रिन्सिपल सबै विद्यार्थीको अगाडि आउनुपर्छ भन्नुहुन्छ, हामीले प्रतिनिधिमूलक बसौं भनेर पहल गरेका छौं, एक महिना अघि सूचना निकालेर भनिएको थियो’ उनले भने । यो कलेजमा विभिन्न तह र विषयमा करिब १७ सय विद्यार्थी रहेका छन् । अहिले यो आन्दोलनमा एमबीबीएस र बीडीएसका विद्यार्थी आन्दोलनमा छन् ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६