प्रदेश

मधुवन सामुदायिक वनको १८ औं साधारण सभा,  करिब ४ करोडको बजेट पेश



हरि घिमिरे, २८ असोज  ।
कपिलवस्तुको बाणगङ्गा वडा न. ८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समितिको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार वनको प्राङ्गणमा १८ औं वार्षिक साधारण सम्पन्न भएको हो । साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशील वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्द्धन प्रणालीमा गर्नुपर्ने भूमिकाको विषयमा चर्चा गरिएको थियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत विजयराज सुवेदीले हावामा उडेको चिजलाई प्रयोगमा ल्याँउदा पछिल्लो समयमा वनले फाइदा ल्याउन सफल भएको बताए । उनले वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन नेपालमै कपिलवस्तु जिल्लाबाटै सुरुवात भएको बताउँदै प्राकृतिक श्रोतलाई सही सदुपयोग गरी वन व्यवस्थापनलाई अगाडि बढाउँदै लैजानुपर्ने बताए । उनले वन अतिक्रमणलाई नियन्त्रण गर्नुपर्ने, सामुदायिक वनमा रहेका खोल्साखोल्सीहरुलाई संरक्षण गर्नु पर्नेमा सामुदायिक वनले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रमका विशिष्ट अतिथि वडा न. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वनको दिगो संरक्षण र सम्वर्द्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए । उनले वनको बजेट वडाको भन्दा धेरै भएकाले सामुदायिक बनले वडा विकासको निम्ति समन्वय, सहकार्य गर्न आवश्यक रहेको बताए । उनले फरक प्रसङ्गमा वडा न. ८ भौगोलिक हिसाबले ठुलो वडा भएकाले विकास कम देखिएको बताए । यद्यपि उनले नगरपालिकाका सबै वडामा भन्दा वडा न. ८ मा धेरै संघ र प्रदेश बाट बजेट पार्न सफल भएको बताए । 


कार्यक्रमका विशिष्ट अतिथि तथा वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रिय बरिष्ठ उपाध्यक्ष डिल्लिराज रेग्मीले सरकारले वैज्ञानिक वनलाई पटक पटक खारेज गर्दापनि आफूहरूले जोगाउन सफल भएको बताए । उनले वनहरूको योगदानका कारण देशमा आमूल परिर्वतन आएको र सबै सामुदायिक वनमा महिलाहरूलाई आबद्ध गराउँदै उनीहरूको नेतृत्व विकासका साथै आय आर्जनतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।


यस्तै सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वनको भावी रणनिति बारेमा समूहका अध्यक्ष शान्त विक्रम पौडेलले प्रस्तुत गरेका थिए । उनले चालु आर्थिक वर्ष २०८०।०८१  का लागि ३ करोड ९४ लाख बराबरको अनुमानित बजेट पेश गर्दै वन उपभोक्ता समूहबाट अति विपन्न वन उपभोक्ता परिवारलाई आवास सहयोग, गरिबी न्यूनिकरण तथा जिविकोपार्जन सहयोग कार्यक्रम, आर्यआर्जन व्यवसायमुखी तालिम , महिला सशक्तीकरण, सामुदायिक वन विकास संरक्षण गर्ने, आयआर्जनका लागी सहुलियत ऋण प्रदान, सर्पदंश केन्द्रलाई सामाग्री सहयोग गर्ने, चिकित्सकद्वारा स्वास्थ्य शिविर सञ्चालन, खेलकुद व्यवस्थापन गर्ने लगायत विभिन्न कामहरू गर्ने बताए । 


कार्यक्रममा वनका सचिव अनिता थापाले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । त्यस्तै आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रगति प्रतिवेदन वनका कोषाध्यक्ष सरिता अर्यालले प्रस्तुत गरेकी हुन । उनले आर्थिक वर्ष ०७९/०८० को कुल १ करोड १७ लाख बराबरको आय– व्यय सार्वजनिक गरेकी थिइन ।


कार्यक्रममा सल्लाहकार सदस्यहरू, लेखा समिति संयोजक, उपभोक्ताहरू, सुरक्षाकर्मी , शिवपार्वती खानेपानी उपभोक्ता समितिका अध्यक्ष, मोतिपुर खानेपानीका उपाध्यक्ष, वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष लगायतले आ – आफनो धारणा राख्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रम वनकी सचिव अनिता थापाको सञ्चालनमा  सम्पन्न भएको थियो । ४ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा १ हजार ३५ बराबर सदस्य आवद्ध रहेका छन् ।

प्रकाशित : २८ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६