दाङ, ३ पुस ।एक कानुन व्यवसायी पुरुषलाई हनी ट्रर्यापमा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताए ।
जिल्ला न्यायाधीश जगबहादुर पौडेलको एकल इजलासले कानुन व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीय सीतादेवी थापा, १५ हजार रुपैयाँ ३५ वर्षीय खुमा वली र ३२ वर्षीय सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए । उनीहरूले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो । ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।
तत्कालीन दाङका प्रहरी प्रमुुख एसपी सुरेश काफ्लेको नेतृत्वमा प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिल मार्फत अदालतमा मुद्दा चलेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसीले अदालतको आदेशसँगै प्रहरीले उनीलाई पक्राउ गर्ने तयारी गरेको बताएका छन् ।
प्रतिक्रिया