कपिलवस्तु, १४ पौष । बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले अबको शिक्षा रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । प्राविधिक र व्यवहारिक शिक्षाको अभावले लाखौ युवा बिदेशीनु परेको भन्दै त्यसलाई समाधान गर्न तिनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
शुक्रवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सिद्धार्थ क्याम्पसले आयोजना गरेको स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुको स्वगत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको सिद्धार्थ क्याम्पसमा हाल रहेका बाहेक अन्य विषयहरु ल्याउन आफुले नगरको तर्फ बाट पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै उहाँले स्ववियुले विद्यार्थीहरुका हकहितका निम्ति बुलन्द आवाज उठाउनुपर्ने भन्दै स्ववियु सङ्ग नगरपालिकाले सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो ।
त्यस्तै क्याम्पस प्रमुख बेदराम अर्यालले उत्कृष्ट शैक्षिक संस्था रोजेको भन्दै नवआगन्तुक विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो । विभिन्न तहका विद्यार्थीहरुले राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याएको भन्दै त्यसलाई नवआगन्तुक विद्यार्थीहरुले निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीहरुको सेवा सुविधा वृद्धिका लागि क्याम्पस प्रशासन सकारात्मक रहेको समेत उहाँले बताउनुभयो ।
त्यस्तै स्ववियु सभापति निलकमल थारुले अझैपनि विद्यार्थीहरु माझ विभिन्न गुनासा आईरहेको भन्दै ति गुनासाहरु समाधान गर्न क्याम्पस प्रशासन सङ्ग माग गरिरहेको बताउनुभयो । स्ववियुले समग्र विद्यार्थीहरुको अभिभावकत्व गर्ने भएकाले समस्याहरु स्पष्ट रुपमा राख्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रध्यापक कुलराज भुसाल, स्ववियु कोषाध्यक्ष मनोज न्यौपाने, सदस्य अर्चना आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । नवआगन्तुक विद्यार्थीलाई खादा र अविर लगाएर स्वागत गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम स्ववियु उपसभापति अस्मिता भुसालको स्वागत तथा सचिव पशुपति गिरिको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया