बाजुरा ४ माघ । जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा । मेहनकै फल भन्नुपर्छ, छायाले १० महिनाको अवधीमा लोकसेवा आयोगले लिएको ६ वटा परीक्षा पास गर्नुभएको छ ।
यसरी एकपछि अर्को सफलता मिल्ने कुरा छाया आफैले सोच्नुभएको थिएन । ‘पढाइ राम्रै थियो । मेहनत त्यो भन्दा बढी नै गर्थीन् । तर जहाँ परीक्षा दियो, त्यहीँ पास हुन्छु भन्नेचाँहि लागेकै थिएन,’ जैशीले भन्नुभयो । उहाँ २०८० को बैशाखदेखि माघसम्म ६ वटा लिखित परीक्षामा सफल हुनुभएको छ । ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसक्न भएको छ छाया ।उहाँ हाल कोशी प्रदेशको उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत हुनुहुन्छ । बाँकी ४ वटाको मौखिक परीक्षाफल आउन बाँकी नै छ । तर उत्र्तिण हुनेमा छाया ढुक्क हुनुहुन्छ । छायाको पारिवारिक कष्ट सुनिसाध्य छैन । अति विपन्न परिवार । ज्याला मजदुरी र खेती किसानी बाहेक अर्को विकल्प थिएन्, छायाको परिवारलाई हातमुख जोड्न । बुबा आमाले साँझ विहान खेतबारीमा काम गथ्र्ये । दिनमा बुबा महानन्द्र जैशीले ज्यालामजदुरी गरेर कमाइले सन्तानको पढाइ खर्च र लत्ताकपडाको जोहो गर्नु पर्ने बाध्यता थियो ।
छाया जुन विद्यालयमा पढनुभयो । त्यही विद्यालयको शुल्क तिर्नका लागि पनि बुबा महानन्द्र जैशीले भवन निर्माणको काम गरे वापतको रकमबाट तिरेको वास्तविकता परिवारसँग रहेको छ । बुढीगंगा नगरपालिका ६ माल्ताकी छाया, कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढनुभएको हो । २०७२ सालमा विद्यालयमा कृषि प्राविधिक कक्षा सुरु भयो । छायाका बुबाले जिद्दीले कृषि प्राविधिक शिक्षा नै पढ्न लगाउनु भयो । विद्यालयको थोरै शुल्क तिर्न पनि परिवारसँग आर्थिक थिएन, भानुदय माविकै भवन निर्माणको काम गरेर तिर्नु परेको दुख छायाले सुनाउने गर्नुभएको छ ।
परिवारले विपन्नताको संकट मात्रै भोग्नु परेन । ७ जना दिदीभाइको ठूलो भारी समेत आमाबुबाकै काँधमा थियो । छाया ७ दिदी भाइमध्ये चौथो सन्तान हुनुहुन्छ । गाउँ नजिकैको विद्यालय बाहेक बाहिर लगानी लगाएर पढाउन सक्ने आर्थिक हैसियत नै थिएन्, जैशीको परिवारसँग । तर सानै देखिको सरकारी जागिर खाने सपना भने छायाले पुरा गर्नुभएको छ । त्यो पनि इतिहासिक रेकर्ड नै कायम गरेर । एकै वर्ष ५ पटक लोकसेवा परीक्षा सफल भएकी भनेर गुल्मीकी मनिषा जिसीको नाम चर्चामा आइरहँदा छायाले ६ परीक्षा पास गरेको तथ्यांक बाहिर आएको हो । लोकसेवा पास गर्न शहर नै जानु पर्छ, भन्ने मान्यतालाई नै छायाले चुनौति दिनुभएको छ ।
भेटेनरी चौथो तहमा कोशी प्रदेश सिफारिस हुनुभएकी छायाले लोकसेवा आयोजको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गर्नुभयो । गएको बैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकाले पनि मौखिमपछि नाम वैकल्पिकमा राखियो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते रिजल्ट आएर सिफारिस हुनुभयो । त्यसपछि पनि पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकाल्नु भएको छ । चार परीक्षाको मौखिक परीक्षाफल प्रकाशित हुन बाँकी छ ।
भानुदय मावि बाजुराकै नमुना र पुरानो विद्यालय हो । कृषि प्राविधिक शिक्षालय तर्फका पनि भानुदयमै अध्ययन गरेका दर्जन बढीले लोकसेवामा नाम निकालिसकेका छन । छायाको सफलताले सिंगो विद्यालय परिवार खुसी भएको प्राचार्य मनवीर खातीले बताउनु भयो ।छायाको सफलताले बुढीगंगा नगरपालिकाको पनि प्रतिष्ठा बढेको नगरप्रमुख रामबहादुर बानीयाँ बताउनु हुन्छ ।
प्रतिक्रिया