कपिलवस्तु, ०७ माघ नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुको एघारौ जिल्ला अधिवेशन पछिको दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । कपिलवस्तुको पर्यटकीय क्षेत्र राजापानीमा साधारण सभा सम्पन्न गरिएको प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
प्याब्सन कपिलवस्तुका सचिव नवीन शर्माले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष नन्दराम सापकोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा अध्यक्ष सुन्दर पाण्डेले प्रस्तुत गरेको आगामी नीति तथा कार्यक्रम साधारण सभाबाट अनुमोदन गरिएको छ ।
अध्यक्ष पाण्डेले सु–व्यवस्थित कपिलवस्तु प्याब्सन विद्या मन्दिर निर्माण कार्य शुभारम्भ गर्ने, विद्यालय संचालकहरुलाई नेतृत्व क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक महिना प्याब्सन सदस्य विद्यालय बीच प्रतिस्पर्धात्मक कम्तिमा एक वटा जिल्ला स्तरिय कार्यक्रम आयोजना गरि निरन्तरता दिने लगायत आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रत्येक पालिका शिक्षा समितिमा प्याब्सनको प्रतिनिधित्व गर्ने र शिक्षकहरुको क्षमता वृद्धि विकासका लागि थप कार्यक्रमहरु आयोजना गर्ने जस्ता आगामी नीति तथा कार्यक्रम अध्यक्ष पाण्डेले प्रस्तुत गर्नुभयो । उहाँले साधारण सभा सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले शिक्षा क्षेत्रको विकासका लागि नीजि विद्यालयहरुको अहम भुमिका रहेको बताउनुभयो । उहाँले नीजि तथा आवासीय विद्यालयहरुले शैक्षिक गुणस्तरमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि प्याब्सन पुर्व केन्द्रिय सचिवालय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष सर्वेन्द्र देव खनाल, लुम्बिनी प्रदेश सह–सचिव कृष्ण प्रसाद शर्मा, सल्लाहकार बासुदेव घिमिरे लगायतले मन्तब्य दिंदै साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।
जिल्लाका विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख, ७९ विद्यालय सदस्य रहेको प्याब्सन कपिलवस्तुमा आवद्ध विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक लगायतको उपस्थिती रहेको कार्यक्रम प्याब्सन कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष धिरेन्द्र बिक्रम सिंको स्वागत मन्तब्य तथा सचिव नवीन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया