कृषि

कृषकमैत्री नीति लुम्बिनी प्रदेशमा प्राङ्गारिक मल उत्पादनलाई सरकारको मुख्य एजेन्डा



रूपन्देही–
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आइतबार शुद्धोदन गाउँपालिका–१, मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको निरीक्षण गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्राङ्गारिक मलले पूर्ति गर्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे ।
‘प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न प्राङ्गारिक मल उत्पादन हुनु जरुरी छ’, उनले भने, ‘यही मलको प्रयोग गरेर खेती प्रणालीलाई अघि बढाउने गरी केही वर्षभित्र प्रदेशलाई प्राङ्गारिक प्रदेशको रुपमा विकास गर्ने लक्ष्य पूरा हुनेछ ।’ मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मल उत्पादनका लागि सामुदायिक संघसंस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गर्नेगरी सरकारले वातावरण बनाउने पनि बताए । स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रको योगदान अतुलनीय रहेको चर्चा गर्दै उनले रोजगारी सिर्जनाको आधार पनि स्थानीय उत्पादन नै भएको उल्लेख गरे ।
‘अहिले देखिएको मलको समस्या कम गर्न प्राङ्गारिक मल र कम्पोस्ट मल नै सक्षम छन् । हाम्रा परम्परागत अभ्यासलाई पुनःताजगी गरेर अघि बढाउन सकिन्छ’, उनले भने, ‘वनजंगलमा खेर गइरहेका पातपतिङ्गर संकलन गरेर कम्पोस्ट मल बनाउन सकिन्छ । गौशालामा यो अभियान सुरु भएको छ । किसानका गोठलाई सुधार गरेर मल–मुत्रबाट समेत प्राङ्गारिक मल बनाउन सकिने अभ्यासलाई अभियानका रुपमा लैजान जरुरी छ ।’

प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले किसानले भोगिरहेको रासायनिक मलको समस्या समाधान गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए । उद्यमी सीपी शर्माले अर्गानिक उत्पादनमा जोड दिँदै राज्यले सहयोग गरे यो अभियानलाई अझ व्यापक बनाउन सकिने जनाए । दैनिक ४० टन र वार्षिक १५ हजार टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना सुरु गर्न सकिने र यसका लागि लगानी खोज्ने कार्य भइरहेको उनले बताए ।

प्रकाशित : २ भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६