देश

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा



टोकियो, १३ कात्तिक (रासस/एएफपी) :
जापानको मुद्रास्फीति १३ वर्षभन्दा बढी समयपछि केन्द्रीय बैंकले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यमा पुगेको बैंक अफ जापानले जनाएको छ । लामो समयदेखि अपस्फीति अर्थात् वस्तु तथा सेवाको मूल्य निरन्तर घट्ने अवस्थाबाट अर्थतन्त्रलाई बाहिर निकाल्ने प्रयासपछि मुद्रास्फीति लक्ष्यअनुरूप भएको बैंकले पुष्टि गरेको हो । जापानले दशकौँदेखि मूल्यमा निरन्तर गिरावट र त्यसले आर्थिक वृद्धिमा पारेको नकारात्मक प्रभावसँग सङ्घर्ष गर्दै आएको थियो । यसलाई अन्त्य गर्ने उद्देश्यले बैंक अफ जापानले सन् २०१३ मा व्यापक मौद्रिक सहजता नीति अपनाउँदै दुई प्रतिशत मुद्रास्फीति लक्ष्य निर्धारण गरेको थियो । सन् २०२० को दशकको सुरुदेखि मुख्य उपभोक्ता मुद्रास्फीति कहिलेकाहीँ लक्ष्यभन्दा माथि पुगे पनि दीर्घकालीन मूल्य प्रवृत्ति दुई प्रतिशतको लक्ष्यअनुरूप रहेको बैंकले पहिलोपटक पुष्टि गरेको हो । बैंकका अनुसार आधारभूत उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति सामान्यतः दुई प्रतिशतको मूल्य स्थिरता लक्ष्यसँग मेल खाने स्तरमा पुगेको छ र आगामी दिनमा पनि त्यसकै आसपास रहने अपेक्षा गरिएको छ । यसैबीच, बैंकले आठ मतको पक्ष र एक मतको विपक्षमा प्रमुख ब्याजदर १.२५ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ र युरोपेली केन्द्रीय बैंकले पनि यसै साता ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेका थिए । जापानमा भने मुद्रास्फीतिको दबाब बढ्दै गएकाले अधिकारीहरूले आगामी डिसेम्बरमा ब्याजदर वृद्धि हुन सक्ने अपेक्षा गरेका छन् । गत साता सार्वजनिक सरकारी तथ्याङ्कअनुसार जापानको मुख्य मुद्रास्फीति सेप्टेम्बरमा २.१ प्रतिशत पुगेको छ, जुन अगस्टमा १.७ प्रतिशत थियो । –––

प्रकाशित : १४ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६