अर्थ-वाणिज्य

चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्ला आए



सिमकोट, (हुम्ला) २५ भदौः

हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख १८ गते सञ्चालनमा आएपछि विदेशी पर्यटकको चाप बढेको हो ।

जेठदेखि भदौसम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय र अन्य देशका पाँच हजार ८४२ जना पुगेका छन् । जसमा भारतीय तीर्थयात्री पाँच हजार ५१७ र अन्य देशका ३२५ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो  समय सिमबोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । 

चीनले हिल्सा नाकालाई हुम्लाबासीसहित भारतीय पर्यटकहरुका लागि खुला गरेपछि धार्मिक पर्यटकहरुको संख्या बृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मानसरोवर कैलाशको दर्शन गर्नका लागि हुम्लामा कोरोना संक्रमणपछिको यो ठूलो संख्या हो, भारतीय पर्यटक आउने क्रम निकै बढी छ ।” 

उहाँका अनुसार मौसम अनुकुल भएको अवस्थामा दैनिक पाँचदेखि दश वटासम्म नेपालगञ्जबाट यहाँ उडान हुने गरेको छ । जसमा सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि बिभिन्न हेलिकप्टरले पर्यटकलाई सेवा दिइरहेका छन् । 

गत जेठमा मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु गरेका थिए । कतिपय पर्यटकहरु गाडीमार्फत हिल्सा हुँदै मानसरोवर पुग्ने गरेको हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार चार महिना यता सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् । 

जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क उठाउँदै आएको छ । जसमा भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु ११ सय र अन्य देशका पर्यटकको हकमा प्रतिव्यक्ति रु १५ सय तोकिएको छ ।

प्रकाशित : २५ भाद्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६