काठमाडौँ, २७ भदौः
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले यो विषम परिस्थितिमा हिजोको भन्दा उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक भिडियो सन्देशमार्फत निर्देशन दिँदै महानिरीक्षक खापुङले पीडाको क्षणमा युगीन जिम्मेवारीमा नियमित प्रहरी कार्यमा हिजोको भन्दा पनि उच्च मनोबलका साथ जुट्न प्रहरी कर्मचारीलाई अनुरोध गर्नुभएको छ । उहाँले सुखदुःखमा महानिरीक्षक साथमा रहेको विश्वास दिलाउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “दुःखद घटनाबाट पाठ सिकेर पुनः जिम्मेवारीका साथ कर्तव्यमा परिचालित गर्दा हाम्रो निष्ठामा कुनै कमि नआओस्, प्रहरी सङ्गठनको गरिमालाई अझै उँचो बनाउन निर्देशन गर्दछु ।”
दशकौँदेखि आपत्विपत्मा नेपाल प्रहरीले आफ्नो जिम्मेवारी निभाउँदै आएको उल्लेख गर्दै महानिरीक्षक खापुङले विषम परिस्थितिमा सबैबाट प्रदर्शन भएको संयमतालाई धन्यवाद दिनुभएको छ । यो कठिन समयमा व्यावसायिक निष्ठा र कर्तव्यपरायणले नागरिकको जीवनयापन सहज हुने पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले जेनजी आन्दोलनमा प्रहरीसहितका मृतकप्रति श्रद्धाञ्जलि दिँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।








प्रतिक्रिया