काठमाडौँ, २९ भदौः
मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ ।
यही भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधि तथा जारी गरिएका कफ्र्युका एकाएक बन्द हुन पुगेका विद्यालयहरु आजदेखि क्रमशः खुल्न थालेका छन् ।
शिक्षा क्षेत्रमा नीतिगत नेतृत्व गर्दै शिक्षा मन्त्रालयले तत्कालका लागि केशर महलबाट अत्यावश्यक काम कारवाही सञ्चालनमा ल्याइने तयारी गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयको भवनमा आगलागी र तोडफोडबाट भएको क्षतिको प्रारम्भिक आँकलन गर्न आन्तरिकरुपमा कार्यदल बनाइएको छ । मन्त्रालयमा सरसफाइ एवं अन्य व्यवस्थापकीय कामहरु भइरहेको छ ।
मन्त्रालयको परिसरमा जलाइएका विभिन्न सवारी साधन भने क्षतिको आकलन र सवारी धनीको पहिचनपछि मात्रै हटाउन मिल्ने भएकाले कार्यालय परिसर अस्तव्यस्त हुन पुगेको छ ।
सोही मन्त्रालयको भुँइ तलामा रहेका राष्ट्रिय सतर्कता केन्द्रको कार्यालय पनि प्रभावित भएको छ । जेनजी समूहको प्रदर्शन र विभिन्न समूहले गरेको हिंसात्मक गतिविधिका कारण सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत मन्त्रालयहरु ध्वस्त भएका छन् । मुलुकको विषम परिस्थितिका कारण आगामी असोज २ गते मनाइने राष्ट्रिय शिक्षा दिवसलाई पनि कुन रुपमा मनाउने भन्ने अन्योल देखिएको छ ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले सिंहदरबारबाट तत्काल काम गर्न सकिने अवस्था नभएकाले नयाँ शिक्षामन्त्रीको आगमनसँगै केशरमहलबाट अत्यश्यक कामहरु सञ्चालन गर्ने गरी तयारी भएको र सिंहदरबारमा काम गर्न मिल्ने अवस्था भएपछि पूर्ववत्रुपमा सिंहदरबारबाट काम सुरु गरिने जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालय र केशरमहलको लामो परिचय जोडिएको छ । विगतमा त्यहाँ रहेको मन्त्रालय सिंहदरबारमा सारिएको थियो भने त्यसपछि पनि मन्त्रालयको छात्रवृत्ति शाखा त्यहीबाट सञ्चालित थियो । हाल उक्त शाखा भक्तपुर सानोठिमी लगिएको छ । केशरमहलमा विसं २०२६ देखि केशर पुस्तकालय रहेको छ । विगतमा मन्त्रालय रहेको केशरमहलको भवन हाल पुनः निर्माण भइसकेको छ ।
मन्त्रालयका प्रवक्ता सापकोटाले आन्दोलन र कफ्र्युका कारण अवरुद्ध भएको विद्यालयहरुको पठनपाठन स्थानीय तहको समन्वयमा क्रमशः आजदेखि खोल्न थालिएको जानकारी दिनुभयो । देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गरी सञ्चालन गर्न मन्त्रालयले स्थानीय तह र विद्यालयहरुलाई आग्रह गरेको छ ।
काठमाडौँ महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको थियो । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले विद्यालयमा कुनै क्षति भए–नभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न पनि अनुरोध गरेको थियो ।
विद्यालयहरुले मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्यदृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न पनि स्थानीय तहरुको आग्रह रहेको छ । रासस








प्रतिक्रिया