जीवनशैली

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी



सिरहा, ३० भदौ

यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ ।

जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार, लुटपाटको घटनाले राष्ट्रियस्तरमै लहानको बेइज्जत गराएको भन्दै कार्यालयले कडा निर्देशन जारी गरेपछि फिर्ता हुन थालेको हो । उहाँले भन्नुभयो, “हामीले उर्दी जारी गरेका थियौँ फिर्ता गर्नका लागि । फिर्ता नगर्नेलाई सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो भिडियोका आधारमा पहिचान गरी कानुनी कारबाही गरिनेछ भनेर ।”

उहाँका अनुसार स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी क्रमशः फिर्ता हुन थालेको हो । केही व्यक्तिहरूले स्वयं आएर र केहीले स्थानीय युवाको माध्यमबाट आइतबार चामल र चिनी फिर्ता गरेका हुन् । 

खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुका ९ बजेसम्म ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी फिर्ता भएको छ । “फिर्ता गर्नेको प्रतिष्ठालाई ध्यानमा राखेर नाम भने गोप्य राखिएको छ”, महतोले भन्नुभयो । 

विवरणअनुसार, चार वटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए । उहाँका अनुसार यसको अनुमानित मूल्य रु १० करोड ९१ लाख २२ हजार ८२७ बराबर रहेको छ । 

खाद्यान्नलाई सुरक्षित राख्न प्रयोग गरिने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’  लुटिएको छ । महतोका अनुसार, ती सिटहरू अत्यन्तै भारी हुने र उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्दछ । यस्तो सिट खाद्य कम्पनीसँग मात्रै रहेको जनाइएको छ ।

लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएकोे कार र मोटरसाइकलमा  आगजनी गरिएको छ । खाद्यकर्मीको ‘क्वार्टर’ बाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिण्डर तथा मोबाइलसमेत लुटिएको छ । 

यसअघि विसं २०६३ को मधेस आन्दोलनसहित अन्य विभिन्न आन्दोलनका क्रममा गरी हालसम्म तीन पटक लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ । यसले गर्दा आगामी दिनमा सामान्य आन्दोलनको बेलामा पुनःलुटपाटको जोखिम उच्च रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : ३० भाद्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६