जलेश्वर (महोत्तरी), १२ असोज
दुर्गा पूजाको षष्ठी तिथिका दिन आज महोत्तरीको सदरमुकाम जलेश्वरमा विशाल कलश यात्रा गर्दै बेल निमन्त्रणा कार्यक्रम सम्पन्न गरिएको छ ।
बेल निमन्त्रणा कार्यक्रमलाई मैथिली तथा मिथिला संस्कृतिमा ‘बेलनेउती’ भनिन्छ । जलेश्वरको दुर्गाचोक र शंकरचोक गरी दुई स्थानमा हुने दुर्गापूजा स्थलबाट छुट्टाछुट्टै बाजागाजा र दुर्गा भवानीको नाचगान तथा झाँकीका साथ बेल निमन्त्रणाका लागि कलश यात्रा निस्केको थियो ।
साथै सोही कलश शोभा यात्रामा मिथिलाको प्रख्यात झिझिया र नटराज नृत्यको टोली सहभागी थिए । जलेश्वरको दुर्गाचोकबाट मात्रै पाँच हजार १०० कुमारी कन्याले हातहातमा घैँटा बोकी कलश शोभा यात्रामा सहभागी भएको दुर्गापूजा समितिका संयोजक सञ्जु गुप्ताले बताउनुभयो ।
बेलको रूखमा पुजारीले एउटा बेललाई विशेष पूजागरी भोलि एकाबिहानै तोडेर लैजानेगरी माता दुर्गा भवानीलाई पूजा ग्रहण गर्न आउन भनी कपडाले छोपेर रूखमा नै लागेको बेललाई निमन्त्रणा दिइन्छ । सोही अनुसार पुजारीले एकाबिहानै बेल लगेर सबभन्दा पहिले देवीको प्रतिमालाई बेल देखाउँदै उनको आँखा उघार्ने गर्दछ । त्यसपछि देवी दुर्गाको पूजाआजा र बलि प्रदान विधिवत् सुरु हुन्छ ।
बेलको रूखमा माता दुर्गाको बास भएको भन्दै बेल निमन्त्रणा कार्यक्रममा उनलाई पूजा स्वीकार गर्न माटोले बनाएको प्रतिमास्थलमा आउन भनी निमन्त्रणा दिने प्रचलन रहेको पण्डित ललित झाले बताउनुहुन्छ ।








प्रतिक्रिया