कात्तिक ४ , कपिलवस्तु
नियमित रुपमा अनुगमन गर्ने । छड्के अनुगमन गरेर हेर्ने । साप्ताहिक, पाक्षिक र कतिपय ठाउँमा मासिक अनुगमन गर्नपर्ने ठाउँ छुट्याएर सोही अनुसार गर्ने गराउने हो भने व्यापारीहरुले उतिसाह्रो बदमासी गर्दैनन्, नत्र गर्छन् । चाडपर्व आयो, अतिरिक्त खर्च चाहियो भनेर, सर–सल्लाह गरेर, तन र मन मिल्दा कर्मचारी जम्मा भएर अनुगमनमा हिड्ने चलनले विचलन ल्याएको छ । गलत काम गर्ने, उपभोक्ता ठग्ने व्यापारीहरु दान दक्षिणाका खाम लिएर कार्यालयमा आएर नमन गरेनन् भनेर अनुगमनमा निस्कने बानी नछुटेर बिग्रेको छ सवैतिर । अनि जहिले पनि अनुगमनमा निस्केर फर्केपछि भन्ने त्यही हो – म्याद गुज्रेका माल, मिठाईमा अस्वस्थकर रंग र तेल प्रयोग गरेको पाइयो, अबदेखि त्यस्तो नगर्ने चेतावनी दिएर आइयो । गाउँ–शहरका चोक चौराहा र राजमार्ग किनारका होटलमा सर–सफाई गर्न सुझाइयो ।’ यो बाहेक अरु केही गरिएको खबर कहिलै आउँदैन । यसरी अनुगमन गरेर बजार र व्यापारी सुध्रदैनन् र उपभोक्ता ठगिनबाट पनि जोगिदैनन् ।
दशैं र तिहारमा हो अनुगमनका लागि खटिने र पठिने । अरु बेला नियमित र अनियमति दस्तुर खल्तीमा हालेर हिड्ने होला । त्यो बाहेक अरु राम्रो काम भएको देखिदैन । यदि कसैले उजुरी हाल्यो र कसैलाई केही गर्नै पर्ने भयो भने पनि पूर्व सूचना दिएर, अनुगमनमा गएर, हेरेर आउने, बदमासी गर्नेलाई चोख्याउने चलन छ । अनुगमनमा निस्कने कर्मचारीको मात्रै कुरा हैन यो, सवैतिर बिग्रेको छ र छैनन् कोही चोखा । जताततै छन् अतिरिक्त आम्दानीका भोका । पर्खेर बसेका हुन्छन् बेला र मौका । मौकामा चौका नहान्ने, हान्न नजान्ने नेता, पत्रकार, वकिल, कर्मचारी र पुलिसले गरिखान्न र परिवार पनि पाल्दैन भन्ने चलन चलाएपछि हुने यही र यस्तै हो । यो र त्यो जिल्ला वा ठाउँको कुरा गरेर हुन्न । सवैतिर उस्तै छ । अझ सीमा क्षेत्रका बजारमा त नहुने कुरै भएन । चाडवाड र भिडभाडकै समयमा त हो सडे गलेका, म्याद गुज्रेका, काम नलाग्ने सर–सामान मिस्मास् र बेच्–बाच् पारेर कमाउने । अरु बेलामा त ग्राहकले पनि हेरेर किन्न खोज्छन् । मूल्य, म्याद र टिकाउका बारेमा सोध–खोज गरेर, ओल्टाई पल्टाई पारेर, तोकिएको मूल्यमा पनि घटाउन खोजेर हैरान पार्छन् । पसलेले पनि मालको मूल्य बढाएर भन्ने हुनाले सकेसम्म झारेर किन्न खोज्छन् क्रेताले पनि ।

कपिलवस्तु जिल्लाको चन्द्रौटा, इमिलिया, बहादुरगञ्जमा पनि अनुगमन गरिएछ । जुन कर्मचारी अनुगमनमा गएका हुन्, तिनका कार्यालय अगाडिका पसलमा बिक्रीका लागि राखिएका माल सामान र खाद्य सामाग्री अरु कसैले गएर अनुगमन गरेर हेरे थाहा हुन्छ अवस्था कस्तो छ भनेर । लोकलज्जा निवारणार्थ गरिने अनुगमनको प्रचार धेरै गर्नै पर्दैन । जिम्मेवार निकायले अन्ुगमन, नियमन र व्यवस्थापन, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्ड जरिवाना गर्नुपर्छ सधैं । तब बल्ल बिक्रेता र क्रेता पनि सजग हुन्छन्, नत्र हुन्नन् । दुवैतिरका कर्मचारी र सुरक्षाकर्मी मिलेर अनुगमन गर्दा राम्रो हुन्छ सीमाक्षेत्रका बजारमा, नत्र सधैं उस्तै रहन्छ ।








प्रतिक्रिया