नेपालगञ्ज, २५ कात्तिक
बाँकेमा आर्थिक वर्ष २०८२÷८३ को चार महिनाको अवधिमा ७० सर्पको उद्धार गरिएको छ । उद्धार गरिएका सर्पमध्ये अधिकांश विषालु सर्प भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ताले वन क्षेत्र आसपासभन्दा बढी सहर बजारमा सर्प देखिन थालेको जानकारी दिँदै १५ जनाको प्राविधिक टोलीले रातिमा पनि सर्पको उद्धार गरेको बताउनुभयो । जिल्लाको खासगरी नेपालगञ्ज र कोहलपुरमा सबैभन्दा बढी सर्पको उद्धार भएको उल्लेख गर्दै उद्धारका लागि जनशक्ति व्यवस्थापन र तालिमको अभाव भएको धारणा व्यक्त गर्नुभयो ।
गत साउनदेखि कात्तिकसम्म विभिन्न प्रजातिका सर्पसहित विभिन्न ७६ वन्यजन्तुको उद्धार गरिएको कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कमन कोब्रा, करेत, रसल भाइपर, धामन, अजिङ्गर लगायतका सर्पको उद्धार गरेर शम्शेरगञ्ज माथेबास चक्ला वन पु¥याइएको छ ।
धान काटेपछि जाडो महिनामा बस्तीमा जाने सम्भावना बढी हुने उल्लेख गर्दै सुवेदीले विषालु सर्पको जिल्लामा रहेको प्राविधिक समूहले उद्धार गर्ने बताउनुभयो । “रातिमा प्रायः हामीलाई फोन आउँछ, स्रोतसाधनको पनि अभाव छ, तर पनि जसोतसो काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
गत आर्थिक वर्ष २०८१÷८२ मा डिभिजन वन कार्यालयले विभिन्न प्रजातिका १२२ सर्पको उद्धार गरेको थियो । बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ ।
प्रतिक्रिया