अर्थ-वाणिज्य

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या



चितवन, २८ मङ्सिर

यहाँ गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो । पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा पठाइएको र १६ गते नतिजा आएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख डा न्यौपानेले हाल रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोग लागेको क्षेत्रमा खोप लगाउने काम भइरहेको छ । अब जिल्लाभरिनै अभियान चलाउने योजना छ ।” भाइरसका कारण सर्ने यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दानापानी नखानेजस्ता लक्ष्यण देखिने गरेको छ । यो रोग बढी मात्रामा गाईभैँसी र बुङ्गुरमा देखिने गरेको कार्यालय प्रमुख डा न्यौपानेले बताउनुभयो । जिल्लाका सबै पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिएको हुनसक्ने जनाइएको छ । बाहिरबाट खरिद गरेर ल्याएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन र सङ्क्रमिण देखिएका पशुलाई समेत छुट्टै राखेर उपचार गर्न कार्यालयले आग्रह गरेको छ । “जङ्गली जनावरबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी सङ्क्रमण देखिने गरेको छ । यसमा सतर्कताका साथै हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुईपटक खोरेतविरुद्धको खोप लगाउन हाम्रो आग्रह छ”, कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो । —

प्रकाशित : २९ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६