खोज–अनुसन्धान

कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य



काठमाडौँ, ५ पुस

पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो । यस्तो विकृतिका विरुद्धमा सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रम मार्फत् आयोडिनयुक्त नुनको वितरण अभियानलाई देशव्यापि सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या शून्यमा झरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शत प्रतिशत पुग्दा आयोडिनयुक्त नुनको कमीबाट देखिने गलगाँडको समस्या निवारण भएको हो । सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पु¥याउने नीति र यस नीतिलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पाेरेशनको चुस्त वितरण व्यवस्थापनका कारण ग्रामीण क्षेत्रमा गलगाँडको समस्या शून्यमा झरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा ‘कण्ठरोग निवारण कार्यक्रम’ छ । राष्ट्रिय योजना आयोगद्वारा गरिएको सो कार्यक्रमको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम क्षेत्रमा साल्ट ट्रेडिङ कर्पाेरेशनको चुस्त नुन वितरण प्रणालीका कारण कार्यक्रमले सफलता पाएको हो । हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरण प्रणाली र स्वास्थ्य मन्त्रालयले गलगाँडका रोग पहिचान तथा उपचारमा ध्यान दिने गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार पछिल्ला दशकमा विशेष गरेर पहाडी एवं हिमाली क्षेत्रमा आयोडिनको कमीले हुने गलगाँड शून्यमा झरेको छ भने अन्य ‘हाइपरथाइरोइडिज्म’, मानसिक तथा शारीरिक क्षमतामा कमी आउने समस्यामा गिरावट हुँदै गएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१देखि गत आर्थिक वर्षसम्म कण्ठरोग निवारणका कार्यक्रमले शत प्रतिशत नै सफलता प्राप्त गरेको छ । अर्थात् दुर्गम हिमाली तथा पहाडी भुगोल भएका २२ जिल्लामा आयोडिनयुक्त नुनको सुलभ, सहज आपूर्ति मार्फत तथा आम जनताको सहज पहुँच पु¥याएकाले कार्यक्रमले सफलता प्राप्त गरेको हो । ती जिल्लामा विशेष गरेर गलगाँडको जोखिम रहने एवं समस्या हुन सक्ने सम्भावित आँकलन समेत गरिएको छ । गत आवमा मात्र मन्त्रालयले कर्पाेरेशनमार्फत् एकलाख दुई हजार ५०० क्विन्टल नुनको सहज आपूर्ति गरेको थियो । मन्त्रालयका सहसचिव शिवराम पोखरेल आयोडिनयुक्त नुनको आपूर्ति र वितरण प्रणालीमा साल्ट ट्रेडिङ कर्पाेरेशनको भूमिका ऐतिहासिक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “कर्पाेरेशनको चुस्त वितरण र व्यवस्थापन तथा आपूर्ति प्रणाली सहज भएकाले आम जनताको सहज पहुँचमा आयोडिन युक्त पु¥याउन सरकार सफल भएको हो । सरकारले मागका आधारमा दुर्गम क्षेत्रमा नुनका आपूर्ति पनि बढाउँदै लगेको छ । ” आव २०७०÷०७१मा दुर्गमका २२ जिल्लामा ५९ हजार ५७३ क्विन्टर पु¥याइएको थियो । भन्साभान्सामा आयोडिनयुक्त नुन कालिकोट, तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्याय आयो नुनको पहुँच नगरवासीको भन्साभान्सासम्म पुगेको बताउनुहुन्छ । उहाँभन्नुहुन्छ “अब सहुलियत दरको नुन वितरणको जिम्मा पालिकालाई नै दिनुपर्छ । आगामी दिनमा आयोडिनयुक्त नुनको चुस्त वितरण र व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुर्गम जिल्लामा नुनको बिक्री डिपो थप गर्नुपर्छ । यसका लागि समन्वय गर्न पालिका तयार रहेका छन् ।” तिलागुफा–१ का वडाध्यक्ष मनबहादुर बुढा गाउँमा ‘ढिके नुन खानु हुँदैन, यसमा आयोडिन हुँदैन’ सचेतना बढेको, ढिके नुन बस्तुभाउलाई खुवाउन छाडिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आयोडिनयुक्त नुनका बारेमा सचेतना त पुग्यो तर अझ सर्वसुलभ पहुँच पुग्न कठिन नै छ । सहुलियत दरका नुन वितरण प्रणालीलाई चुस्त बनाउनुपर्छ । यसमा संघीय सरकारले नुनको बिक्री डिपो थप गर्नुपर्छ ।” सोही नगरपालिकास्थित सत्यदेवी माविका प्रधानाध्यपक सनम शाही विद्यालयले समय समयमा आयोडिन नुनको महत्वका बारेमा विद्यार्थीलाई सचेतनाका कक्षा लिने गरेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “दुई बालबालिका चिन्ह भएको ‘आयो नुन’, ‘भानु नुन’को महत्वका बारेमा जानकारी दिँदा भान्सामा ढिके नुनको प्रयोग हुन छाड्यो । गलगाँड भएका मानिस गाउँमा अहिले देखिँदैनन् ।” कालिकोट, सान्नी त्रिवेणाी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी पालिकाभित्र ढिके नुनको प्रयोग गर्ने घर लगभग शून्यमा रहेको जानकारी दिनुुहुन्छ । उहाँ भन्नुहुन्छ “सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पु¥याउने नीति र यस नीतिलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पाेरेशनको चुस्त वितरण व्यवस्थापनका कारण भान्सा भान्सामा आयोडिनयुक्त नुन आइपुगेका छन् । तर सहुलियत दरका नुनको कोटा बढाउनुपर्छ ।” अध्यक्ष केसीले गाउँमा ‘दुई बालबालिका चिन्ह अङ्कित आयोडिन नुनको प्रयोग गर्नुपर्छ’ भन्ने सचेतना बढेको बताउनुहुन्छ । सान्नी त्रिवेणाी–९ स्थित मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसी आयोडिनयुक्त नुनको कमीले देखापर्ने गलगाँडका बिरामी गाउँमा नभएको जानकारी दिनुहुन्छ । उहाँका अनुसार शरीरमा आयोडिनको कमीले गर्भवतीलाई असर पर्छ । गर्भ तुहिने, मृत शिशु जन्मने, अविकसित दिमाग भएको शिशु जन्मने, शारीरिक रूपमा विकलाङ्क हुने लगायत सम्भावना हुन्छ । सान्नी त्रिवेणाी–९ स्थित डाँफे माबिका प्रधानाध्यपक दूर्गाबहादुर केसी बालबालिकामा आयोडिनयुक्त नुनको कमीले हुने गलगाँड नदेखिएको बताउनुहुन्छ । जुम्ला चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्का पछिल्ला समय ढिके नुुनलाई प्रयोग गर्ने प्रचलन लगभग अन्त्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने सचेतना त बढेको छ । कति मात्रमा गर्ने हो,यसका बारेमा समुदायलाई जानकारी दिन आवश्यक छ । ग्रामीण क्षेत्रका भान्सासम्म आयो नुनको पहुँच पु¥याउन साल्ट ट्रेडिङ कर्पाेरेशनको भूमिका प्रशंसनीय रहेको छ ।” सोही नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमला पुन मगर नगरक्षेत्रमा हालसम्म आयोडिनयुक्त नुनको कमीले हुने गलगाँडका बिरामी नदेखिएको जानकारी दिनुहुन्छ । उहाँका अनुसार आयोडिनको कमी भएका बालबालिकाको मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्छ । साथै वयस्कमा आयोडिनको कमी भएमा गलगाँड आउने, थाइराइड, मानसिक, शारीरिक क्षमतामा कमीजस्ता असर देखिन्छन् । बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण आयोडिनको कमी नै हो । सोही नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाई विद्यालयमा आयोडिनयुक्त नुनको महत्वका बारेमा बालबालिकालाई समय समयमा जानकारी दिने गरेको बताउनुभयो । ‘थोरै खाऔँ, मात्रा मिलाएर खाऔँ’ पछिल्लो सयम देशभर बार्षिक दुइलाख टनभन्दा बढी आयोडिन युक्त नुनको माग हुँदै आएको छ । यही मागअनुसार नै साल्ट ट्रेडिङ कर्पाेरेशनले आयोडिन युक्त नुनको सुलभ र सहज आपूर्ति गर्दै आएको छ । कर्पाेरशनका प्रबन्धक ब्रजेश झाका अनुसार गत आवमा कर्पाेरेशनले दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री वितरण गरेको थियो । अर्काेतर्फ कर्पाेरेशनले नुन आपूर्तिमा तत्काल अबरोध आउन नदिन ६ महिनासम्मलाई पुग्ने नुन आफ्ना गोदाममा मौज्दातमा राख्दै आएको छ । उहाँ भन्नुहुन्छ, “सरकारको कार्यादेश अनुसार नै आयोडिनयुक्त नुनको नियमित आपूर्ति र वितरण हुँदै आएको छ ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव पोखरेल आयोडिनयुक्त नुनको आपूर्ति तथा वितरणलाई साल्ट ट्रेडिङ कर्पाेरेशनले चुस्त बनाएकै कारण गलगाँड निवारणमा ऐतिहासिक हात परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “कर्पाेरेशनलाई नुनको एकाधिकार दिँदा मूल्यमा समेत सरकारले नियन्त्रण गर्न पाइरहेको छ । सरकारकै नियन्त्रणमा रहेकाले नुनको मूल्यवृद्धि हुन नपाएको हो ।” निजी क्षेत्रलाई नुनको कारोबारमा प्रवेश गराउँदा आपूर्ति व्यवस्थामा सङ्कट आइपर्ने विश्लेषकले जनाएका छन् । नुन अत्यावश्यक वस्तु भएकाले सरकारको नीतिभित्रै राख्नुपर्ने माग गरिइएको छ । ‘आयोडिन’ शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो । सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको नुन खान आग्रह गर्दै आएको छ । नुनले थाइरोड ग्रन्थिबाट थाइरोेइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्नजस्ता मुख्यमुख्य काममा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ । –––

Powered By  Orson Infotech

प्रकाशित : ५ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६