जीवनशैली

अल्पायुमै अस्ताए प्रशान्त…



काठमाडौँ, २८ पुस

प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध हुनुहुन्थ्यो । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने । नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बन्नुभएको थियो गायक तामाङ । उहाँ विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ । गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उहाँसँग जोडिनुभएको थियो । नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताउनुभयो । उहाँले ती दिन स्मरण गर्दै भन्नुभयो, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम ग¥यौँ । हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो । हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उहाँलाई जिताउन खर्च गर्न थाल्यौँ ।” उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए । तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिनुभएको थियो । दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराउनुभएको थियो । “विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनु पर्छ भनेर मैले पहिलो पटक पाश्र्व गायनमा ल्याएँ । उहाँको सरलता देखेर म छक्क परेको थिएँ । विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भुत थियो । उहाँमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएँन”, निर्देशक श्रेष्ठले उहाँको स्मरण गर्दै भन्नुभयो । पछि तामाङ अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिनुभयो । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गर्नुभएका गायक तामाङले गाउनुभएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो । त्यसपछि उहाँले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गर्नुभयो । गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उहाँले अभिनय गर्नुभएको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो । अभिनय सुरुआत गरेदेखि उहाँले आफूलाई गायक भन्दा पनि अभिनेताको रुपमा अगाडि बढाउनुभयो । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा पनि भयो । त्यसपछि उहाँले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गर्नुभयो । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा हुनुहुन्थ्यो । सोही क्रममा दिल्लीमा रहनुभएको उहाँको निधन भयो । कोभिड १९ का कारण आमा गुमाएपछि उहाँले परिवारलाई धेरै समय दिन थाल्नुभएको थियो । निर्माता घतानीका अनुसार उहाँ श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्नुहुन्थ्यो । श्रीमती एयरहोस्टेस भएको कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उहाँकै हुन्थ्यो । “आमा गुमाएपछि छोरीलाई उहाँले छाडेको मलाई याद छैन । कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्नुहुथ्यो । छोरीमा उहाँले आमाको प्रतिविम्व देख्ने गरेको बताउनुहुन्थ्यो”, निर्माता घतानीले भन्नुभयो । कोभिड १९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयम् कोभिडको बिरामी हुनुहुन्थ्यो । आफ्नो आमाको अन्त्येष्टीमा सहभागी हुन नपाएको पिडा उहाँको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाइ समय दिने उहाँको स्वभाव थियो । उहाँले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गर्नुभएको थियो । सन् २०२२ मा उहाँको छोरी जन्मिएको थियो । उहाँको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ । गायक तामाङको बुबाआमाको निधन भइसकेकाले उहाँको पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् । नेपाली भाषाको गीत सङ्गीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल हुनुभएका तामाङलाई हरेक नेपालीले सधैँ सम्झिरहने छन् । —

Powered By  Orson Infotech

प्रकाशित : २८ पुस २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६