अर्थ-वाणिज्य

निर्माण सामाग्री अभावले बुटवल–गोरुसिङ्गे सडक सुस्त सम्बन्धित निकाय गम्भीर बन्न प्रदेश सभा सदस्य पन्थीको आग्रह



कपिलवस्तु ११ माघ

बुटवल–गोरुसिङ्गे सडक खण्डको निर्माण कार्य आवश्यक निर्माण सामाग्री अभावका कारण अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना धारणा सार्वजनिक गर्दै सांसद पन्थीले आफू हरेक दिन उक्त सडकमा हिँड्ने क्रममा निर्माणको प्रगति, समस्या र अवरोधबारे प्रत्यक्ष जानकारी लिने गरेको उल्लेख गर्नु भएको छ । पंथीका अनुसार हाल सडक निर्माणका लागि अत्यावश्यक माटो, ढुंगा, गिट्टी र बालुवा पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा कामले गति लिन सकेको छैन।
पंथीले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, सितगंगा नगरपालिका तथा डिभिजन वन कार्यालयलाई यस विषयमा गम्भीर बन्न आग्रह गर्नु भयो । “नियमानुसार राजस्व लिएर निर्माणका लागि आवश्यक सामाग्री उपलब्ध गराउनुपर्नेमा विभिन्न बहाना बनाएर पन्छिन खोज्ने प्रवृत्ति गलत हो,” पन्थीले उल्लेख गर्नु भएको छ ।


पंथीले स्पष्ट शब्दमा भन्नु भएको छ “माटो र ढुंगा बिना सडक निर्माण सम्भव हुँदैन। जुन पालिकाको क्षेत्रभित्र सडक निर्माण भइरहेको छ, त्यही पालिकाले सहजीकरण नगरे कसले गर्छ ?”
सांसद पन्थीले बुटवल–नारायणगढ सडकखण्डमा यात्रुले भोगेको चरम सास्ती र एक हजार करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुनः दोहोरिन नदिन अहिले नै समस्या समाधान गर्नु पर्नेमा जोड दिनु भयो । समयमै आवश्यक निर्णय र सहकार्य नहुने हो भने उस्तै दुःखद अवस्था दोहोरिन सक्ने चेतावनी पनि उहाँले दिनु भयो ।

“यात्रुको दुःख, समयको बर्बादी र राज्यको ठूलो आर्थिक क्षति फेरि नहोस् भन्ने हो भने यो समस्या अब ढिलाइ नगरी समाधान गरिनुपर्छ,” पन्थीको भनाइ छ।
पंथीको यो धारणा सडक प्रयोगकर्ता, स्थानीयवासी तथा विकासप्रति चासो राख्ने सबैका लागि महत्वपूर्ण सन्देश भएको देखिन्छ। अब सम्बन्धित निकायले कति छिटो र कति प्रभावकारी रूपमा कदम चाल्छन् भन्नेमा बुटवल–गोरुसिङ्गे सडकको भविष्य निर्भर रहनेछ।

प्रकाशित : १२ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६