देश

‘घोषणापत्र लेखन अन्तिम चरणमा’



काठमाडौँ, ११ माघ

प्रमुख राजनीतिक दलहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा आआफ्नो दलबाट जारी गर्ने घोषणापत्र लेखनको काम अन्तिम चरणमा पुगेको बताएका छन् । पार्टी नेताहरूका अनुसार निर्वाचनका क्रममा जनतासामु मत माग्न जाँदा चुनावी घोषणापत्र बनाउने र मतपरिणामपछि चुनावी वाचा सक्दो कार्यान्वयन गर्ने अभ्यास रहिआएका सन्दर्भमा आसन्न निर्वाचनअघि घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुगेको हो । विशेषगरी प्रजातन्त्र पुनःस्थापनापछि मुलुकमा भएका संसदीय निर्वाचनअघि सार्वजनिक घोषणापत्रलाई शासनसत्तामा पुगेका राजनीतिक दलहरूले नै प्राथमिकता नदिएको भन्ने गुनासो जनताका तर्फबाट सुनिँदै आएको छ । घोषणापत्रमा समेटिएका विषयवस्तु कार्यान्वयन गर्ने सम्बन्धमा भने कानुनी बाध्यता नभएकाले कार्यान्यवन पक्ष सधैँ फितलो हुने गरेको आमजनताको गुनासो छ । यद्यपि साक्षर मतदाताले मत दिँदा घोषणापत्रमा उल्लेख भएका विषयवस्तु हेर्ने, तुलना गर्ने र विश्लेषणका आधारमा मत दिने गरेको देखिन्छ । प्रायः दलहरुले घोषणापत्र आन्तरिक रुपमा तयारी गरिसकेको भए पनि प्रतिस्पर्धी अन्य दलका घोषणा सार्वजनिक भएपछि अध्ययन गरी त्यसका आधारमा अन्तिम रुप दिने सोचमा रहेका देखिन्छन् । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा नै समिति गठन गरेर घोषणापत्र तयारी गरिरहेको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले घोषणापत्र तयारीका लागि देशभरका नेताकार्यकर्ता र शुभेच्छुकहरूबाट सुझाव सङ्कलन गरिरहेको जानकारी दिँदै पार्टीका तर्फबाट जारी हुने घोषणापत्र यथासक्य छिटो विशेष कार्यक्रमका साथ सार्वजनिक गरिने बताउनुभयो । “हाम्रो घोषणापत्रमा जेनजी आन्दोलनमा उठेका सुशासन, सहज सेवाप्रवाहलगायत माग समावेश गरिने छन्”, प्रवक्ता चालिसेले भन्नुभयो, “एउटा मुख्य घोषणापत्र हुन्छ, बाँकी पार्टीका उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रमा गर्ने काम र योजनाअनुसार छुट्टै घोषणा पत्र बनाउनुहुन्छ ।” घोषण पत्रमार्फत राजनीतिक दलले विकास निर्माण सुशासनलगायतका राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्छन् भने जिल्ला र निर्वाचन क्षेत्र तहमा स्थानीय आवश्यकता र महत्वका आधारमा उम्मेदवार स्वयंले प्रतिबद्धता जनाउने अभ्यास रहिआएको छ । अर्काे प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि चुनावी घोषणापत्र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिनुभयो । “अध्यक्ष ओली झापाबाट फर्किनुभएको छ, अब चाँडै बैठक बसेर घोषणापत्रको काम अघि बढाउँछौँ”, संयोजक शाहीले भन्नुभयो, “वर्तमान अवस्थामा मुलुक बनाउने विषय नै घोषणापत्रको प्राथमिकतामा हुनेछ । साथै जनजिविकाको सवाल, आर्थिक पुनरुत्थान, राष्ट्रिय स्वाभिमान र समावेशी विकासका विषय घोषणापत्रमा समेटिने छन् ।” त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र लेखन कमिटी गठन गरेको जनाएको छ । नेकपाका नेता अग्निप्रसाद सापकोटाले चुनावी घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यथासक्य छिटो घोषणापत्र सार्वजनिक गरिने बताउनुभयो । “मुलुकको पछिल्लो राजनीतिक अवस्था जेनजी आन्दोलनको समीक्षा र रुपान्तरणका विषयवस्तु घोषणापत्रमा समेटिने छन्”, नेता सापकोटाले भन्नुभयो, “वस्तुवादी, यथार्थपरक विकास निर्माणका प्रतिबद्धता तथा राजनीतिक र संरचनागत रुपान्तरणका विषयलाई प्राथमिकता दिइनेछ । घोषापत्रमार्फत विचार र राजनीतिक सिद्धान्तका विषयमा गम्भीर छलफल र बहसको प्रारम्भ हुनेछ ।” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गठित कार्यदलमार्फत घोषणापत्र लेखनको काम भइरहेको र यसै साता घोषणापत्र सार्वजनिक गरिने जनाएको छ । पार्टीका नेता विराजभक्त श्रेष्ठले आफ्नो पार्टीले उठाउँदै आएका र मुलुकको बदलिँदो परिस्थितिमा रुपान्तरणका विषयवस्तु समेटेर घोषणापत्र तयारी भइरहेको जानकारी दिनुभयो । “घोषणापत्रमा राष्ट्रिय मुद्दाका साथै कृषि, पर्यटन, रोजगारलगायतका विषयवस्तु समेटिने छन्”, उहाँले भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा चुनावी घोषणापत्र लेखन कार्यदल बनाई काम गरिरहेको जनाएको छ । सो पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले कार्यदलमार्फत चुनावी घोषणापत्र लेखन कार्य अन्तिम चरणमा पुगेको र यसै साता सार्वजनिक गरिने जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “घोषणापत्रमा राप्रपाले निरन्तर रुपमा उठाउँदै आएको पूर्ण समानुपातिक निर्वाचन, २०४६ सालपछि उच्चपदस्थ राजनीतिज्ञ र कर्मचारीको सम्पत्ति सार्वजनिकलगायत सामाजिक आर्थिक रुपान्तरणका विषयवस्तु अघि सारिने छन् ।” यसैगरी, अन्य राजनीतिक दलहरुले पनि आसन्न निर्वाचनका सिलसिलामा चुनावी घोषणापत्र तयारी गरिरहेको र यसैसाता सार्वजनिक गरिने जनाएका छन् । प्रतिनिधिसभाका लागि १६५ वटा निर्वाचन क्षेत्रमा हुने मतदानमा विभिन्न ६८ दलबाट जम्मा तीन हजार ४०६ उम्मेदवार रहेका छन् । यस निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन् । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका क्रममा १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ वटा मतदान केन्द्र निर्धारण गरेको आयोगले जनाएको छ ।

प्रकाशित : १२ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६