अर्थ-वाणिज्य

जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा



म्याग्दी (बेनी), १४ माघ

जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिकाभित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो । उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्ये उहाँहरुको उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मूल्याङ्कनबाट उत्कृष्ट १० उद्यम घोषणा गरी मङ्गलबार सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार, उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरी प्रविधि खरिदका लागि जनही नगद रु एक लाख नगद सहयोगसमेत गरिएको छ । उत्कृष्ट उद्यमीको रुपमा टपरी एग्रो प्रालिकी जमूना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री,पाईजा अर्गानिक फलफूल तथा पशुपंक्षी फर्मकी बसन्ती पाइजा, पाइजा नर्सरी फर्मका नरबहादुर पाइजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनौट हुनुभएको हो । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमलगायतले उत्कृष्ट उद्यमीलाई सम्मान गर्नुभएको थियो । उद्यमी सम्मान गर्दै पर्यटन मन्त्री बस्यालले जलजला तरकारी, फलफूल, पशुपालन र लघुउद्यममा सम्भावनायुक्त रहेको बताउनुभयो । ‘‘ अहिले गाउँमा युवापुस्ता पाउनै मुस्किल छ, स्थानीय स्रोतसाधनमा आधारित उद्यमशिलतालाई बढवा दिनुपर्छ, स्वदेशमी स्वरोजगार र आत्मनिर्भरतासंगै रोजगारका अवसर सिर्जना गर्नतर्फ प्रदेश सरकारले जोड दिएको छ’’, मन्त्री बस्यालले भन्नुभयो । यस कार्यक्रममार्फत गत आव २०८१÷२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरुलाई न्यूनतम रु ५० हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २५ हजार पुरक अनुदान प्रदान गरी सकिएको छ भने ४० भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उद्ययमीलाई यो आर्थिक वर्षमा ३४ हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २० हजार बराबरको पुरक अनुदान प्रदान गरिने भएको छ । उत्कृष्ट २० बाट छानिएर आएका १० जना उद्यमीमध्ये एक जनालाई पालिकाको सर्वोकृष्ट उद्यमी घोषणा गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिनुभयो । सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप रु एक लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस कार्यक्रमले उद्यमीहरुलाई उद्यमको योजना निर्माण, उद्यमीलाई वृद्धिमुखी योजनासम्बन्धी तालिम दिने, नवप्रवर्द्धनसम्बन्धी प्रविधि सहयोगमा सहयोग गरेको छ । जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रम जलजलासँगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा सञ्चालित छ ।

प्रकाशित : १५ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६