कञ्चनपुर, १ फागुन
यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा आज आयोजित ३१औँ जनयुद्ध दिवस तथा सहिद सम्मान एवं अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जनयुद्धका क्रममा सहिद भएका १०३ सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित सो कार्यक्रममा पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशसभाका नेकपा संसदीय दलका नेता खगराज भट्टले सहिद परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । उहाँले सहिदहरूको वीरता, साहस र बलिदानकै बलमा मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको बताउनुभयो । “सहिदकै बलिदानीका कारण नयाँ संविधान जारी गर्न सम्भव भयो”, उहाँले भन्नुभयो, “सहिदले दिएको बलिदान खेर जान दिइने छैन ।” नेता भट्टले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन देशको दिशा निर्धारण गर्ने महत्त्वपूर्ण अवसर रहेको बताउनुभयो । उहाँले गणतन्त्र र संविधानको रक्षा गर्ने शक्तिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लालबहादुर खड्काले सहिदको बलिदानीकै कारण सबै समुदायका अधिकार संविधानतः सुनिश्चित भएको बताउनुभयो । पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार माधवप्रसाद पन्तले सहिदको रगत नबगेको भए गणतन्त्र र जनताको संविधान सम्भव नहुने बताउनुभयो । “उपलब्धिलाई संस्थागत गर्न नसके बलिदानको मूल्य रहँदैन”, उहाँले भन्नुभयो । पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम ‘सरल’ भाटले सुशासन स्थापना गर्ने दाबी गर्दै राष्ट्रवादी र लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर नेकपा गठन गरिएको बताउनुभयो ।








प्रतिक्रिया