देश

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण



जनकपुरधाम, ९ भदौ

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरेको छ । मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका लागि एक÷एक वटा, सर्लाहीका लागि दुई वटा सवारीसाधन प्रदान गरेको हो । यस्तै, रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयका लागि एक÷एक गरी १२ वटा पिकअप हस्तान्तरण गरेको हो । गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेशको शान्ति, सुरक्षा तथा नागरिकको जीउधनको संरक्षण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनु प्रदेश सरकारको दायित्व र प्राथमिकता भएको उहाँको कथन थियो । “प्रहरीको क्षमता अभिवृद्धि र स्रोतसाधन सुदृढीकरणका लागि मन्त्रालयको सहयोग निरन्तर रहनेछ”, मन्त्री महतोले भन्नुभयो । उहाँले मन्त्रालयले यसअघि पनि प्रहरीका लागि सवारीसाधन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिँदै आगामी दिनमा सहयोग निरन्तर रहने जानकारी दिनुभयो । प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रदेश सरकारले उपलब्ध गराउँदै आएको सवारीसाधनलगायत स्रोतसाधनले शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सहयोग पुगेको बताउनुभयो । मन्त्रालयका स्टोर शाखाका अधिकृत अविनिशकुमार मिश्रका अनुसार हस्तान्तरण गरिएका १२ वटा पिकअपको मूल्य भ्याटसहित रु चार करोड ६८ लाख ६० हजार रहेको छ । यसैगरी, केही दिनपछि प्रहरीले गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले मन्त्रालयले ७० वटा मोटरसाइकल हस्तान्तरण गर्ने तयारी गरिरहेको योजना शाखाका अधिकृत राधेश्यामप्रसाद पालले जानकारी दिनुभयो । कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव डा विन्देश्वरप्रसाद लेखकको सहभागिता थियो ।

प्रकाशित : ९ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६