काठमाडौँ, ७ फागुन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले बदलिँदो सञ्चार परिवेशमा राष्ट्रिय समाचार समिति (रासस) ले अझ व्यावसायिक, प्रतिस्पर्धी र अन्तरराष्ट्रियस्तरमा समेत विश्वसनीय समाचार संस्थाका रूपमा आफ्नो भूमिका विस्तार गर्ने अपेक्षा गर्नुभएको छ । राससको ६५औँ वार्षिकोत्सवका अवसरमा मन्त्रालयका तर्फबाट शुभकामना व्यक्त गर्दै उहाँले लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समावेशी विकासको प्रवर्द्धनमा तथ्यपरक, निष्पक्ष र जिम्मेवार समाचार प्रवाह गर्दै राससले राष्ट्रका लागि उल्लेखनीय योगदान पु¥याएको समेत उल्लेख गर्नुभएको छ । विगतका निर्वाचनमा राससले निर्वाह गरेको निष्पक्ष र उत्तरदायी भूमिकाले यस संस्थाप्रति आमनागरिकको विश्वास थप बलियो बनाएको उल्लेख गर्दैै सचिव बस्नेतले डिजिटल पत्रकारिता, मल्टिमिडिया सामग्री, फोटो तथा भिडियो समाचार सेवामार्फत राससले आफ्नो पहुँच र प्रभाव विस्तार गर्नु प्रशंसनीय विषय भएको बताउनुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस नेपाली पत्रकारिता र सूचना प्रवाहको क्षेत्रमा विश्वासिलो र आधिकारिक संस्थाका रूपमा स्थापित हुँदै आएको छ । सूचना प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको प्रभाव र डिजिटल माध्यमको विस्तारसँगै पत्रकारिता क्षेत्र निरन्तर परिवर्तनको चरणमा रहेको वर्तमान सन्दर्भमा राससले आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्दै समयसापेक्ष रूपमा आफूलाई परिमार्जन गरिरहेको छ ।” राससले सङ्घीय संरचनाअनुसार प्रदेश र स्थानीय तहसम्म सूचना प्रवाहलाई प्रभावकारी बनाउँदै आएको जनाउँदै सचिव बस्नेतले राससले सरकारी नीति, कार्यक्रम र विकास गतिविधिलाई आमनागरिकसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र त्यसलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै, राष्ट्रिय हित, जनचासो र सार्वजनिक उत्तरदायित्वका विषयमा सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्नु राससको पहिचान बनेको उहाँको भनाइ छ । सचिव बस्नेतले हरेक दिन २४सै घण्टा नेपाली समाचार सेवा सम्प्रेषण गरी ‘न्युज एजेन्सी सुत्दैन’ भन्ने सन्देश दिन सफल भएकामा राससको प्रशंसा गर्दै पछिल्ला दिनमा नेपाल भाषा, मैथिली र अवधि भाषामा समेत समाचार सेवा सञ्चालन गरी प्रशंसनीय काम गरेकामा नेतृत्वसहित संलग्न जनशक्तिलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ । उहाँले मुलुक निर्वाचन सङ्घारमा रहेको अवस्थामा अझ सत्यतथ्य समाचार सम्प्रेषण गरेर राससले निर्वाचनको माहोल बनाउन योगदान गर्ने विश्वाससमेत गर्नुभएको छ । सचिव बस्नेतले भन्नुभएको छ, “निर्वाचनका सम्पूर्ण प्रक्रियामा सूचनाको भूमिका महत्त्वपूर्ण र संवेदनशील हुन्छ, यस संवेदनशील समयमा फैलन सक्ने गलत सूचना, भ्रम र दुष्प्रचारको जोखिम निर्मूल गर्न आधिकारिक समाचार संस्थाका रूपमा राससले तथ्य जाँच, सन्तुलित प्रस्तुति र समयमै सही सूचना प्रवाह गरेर लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित बनाउने जिम्मेवारी बहन गर्नुपर्छ । सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको मूल्यलाई आत्मसात् गर्दै लोकतन्त्र, निर्वाचन प्रणाली र समृद्ध नेपालको निर्माणमा राससले निरन्तर योगदान पु¥याओस् हार्दिक शुभकामना ।” –––








प्रतिक्रिया