अर्थ-वाणिज्य

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधनः ५० तोला सुन प्राप्त



फुङ्लिङ (ताप्लेजुङ), ४ वैशाख

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो । समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार विसं २०८० पुस २५ गतेदेखि विसं २०८२ फागुन २५ गतेसम्म मन्दिरमा चढाइएका सुनचाँदी सङ्कलन गरी प्रशोधन गरिएको हो । उक्त कार्य पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा सम्पन्न गरिएको समितिले जनाएको छ । समितिका सूचना अधिकारी नवीन निरौलाका अनुसार करिब २६ महिनाको अवधिमा सङ्कलित ६७ तोला सुन र ४३ किलोग्राम चाँदी रिफाइन गरिएको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेले ६७ तोला प्रशोधनपछि ५० तोला ८५ लाल बराबरको २४ क्यारेट (एक नम्बर) सुन प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार ४३ किलोग्राम चाँदी रिफाइन गर्दा दुई हजार ५४ तोला ३५ लाल बराबरको शुद्ध चाँदी उत्पादन भएको छ । भण्डारणमा रहेका सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गरी यथाशीघ्र बिक्री प्रक्रिया अघि बढाउने तयारी भइरहेको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । पछिल्लो समय सुनको मूल्यमा भइरहेको उतारचढावका कारण लिलामी प्रक्रिया प्रभावित भएको जनाउँदै उहाँले समितिमार्फत प्रभावकारी र व्यवस्थित प्रणाली अपनाउने तयारी भइरहेको बताउनुभयो ।

प्रकाशित : ४ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६