अन्तर्राष्ट्रिय

इरानी नौसेना दुश्मनलाई पराजित गर्न तयार रहेको सर्बोच्च नेता खामेनीको दावी



तेहरान, ५ वैशाख (रासस/एएफपी):

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार इरानी नौसेना अमेरिका र इजरायलमाथि ‘नयाँ तीतो हार’ चखाउन तयार रहेको बताउनुभएको छ। उहाँले शनिबार (अप्रिल १८) को इरानीसेना दिवसको अवसरमा एक सन्देशमा इरानको ‘शत्रुहरू’ विरुद्धको लडाइँका लागि इरानी सेनाको प्रशंसा गर्नुभएको थियो । खामेनीले हालैको ४० दिनको युद्धका क्रममा इरानको सेनाले अमेरिका र इजरायलविरुद्ध अन्य इरानी सशस्त्र बलसँग मिलेर देशको भूमिको रक्षा गरेको र उनीहरूको कमजोरी र अपमानलाई विश्वसामु उजागर गरेको दावी गर्नुभएको छ। उहाँले थप्नुभयो, “सेनाको ड्रोनले अमेरिका र इजरायली लक्ष्यमा ‘गर्जन’ सहित प्रहार गरेपछि बहादुर नौसेना दुश्मनलाई नयाँ हारको तीतो स्वाद दिन तयार छ।” फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण गरे, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए। इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमणको लहरको साथ प्रतिक्रिया दियो र इजरायल र संयुक्त राज्य अमेरिकासँग सम्बन्धित वा सम्बद्ध जहाजहरूलाई सुरक्षित मार्गबाट वञ्चित गरेर स्ट्रेट अफ हर्मुजमाथि नियन्त्रण कायम गरिरहेको छ । अप्रिल ८ मा युद्धरत पक्षहरूबीच दुई हप्ताको युद्धविराम घोषणा गरिएको थियो, त्यसपछि पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिहरूबीच शान्ति वार्ता भएको थियो। अज्ञात इरानी स्रोतलाई उद्धृत गर्दै सीएनएनले शुक्रबार अमेरिका–इरान वार्ताको नयाँ चरणको बैठक सोमबार पाकिस्तानमा हुने जनाएको छ । यसैबीच, इरानका उपविदेशमन्त्री सइद खतिबजादेहले शनिबार दोस्रो चरणको वार्ताका लागि अझै कुनै मिति तय नगरिएको जनाएको ‘इरानियन स्टुडेन्ट्स न्यूज एजेन्सी’ ले जनाएको छ । टर्कीको एक शहरमा शुक्रबारदेखि सुरु भएको अन्ताल्या कूटनीति फोरमको क्रममा पत्रकारहरूसँग बोल्दै उहाँले अमेरिकासँगको वार्तामा सहमतिमा पुग्न प्रगति भए पनि अवरोधहरू अझै बाँकी रहेको बताउनुभयो । इरानले अन्तर्राष्ट्रिय कानुनको दायराभन्दा बाहिर कुनै विशेष सर्त स्वीकार गर्दैन र त्यही ढाँचाभित्र रहेर आफ्नो दायित्व पूरा गर्ने उपविदेशमन्त्रीले जोड दिनुभयो । –––

प्रकाशित : ५ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६