कपिलवस्तु, ८ वैशाख
बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेको बहुक्षेत्रीय पोषण कार्यक्रमले नगरभित्र पोषण तथा जनस्वास्थ्य सुधारमा उत्साहजनक प्रगति हासिल गरेको देखिएको छ। नगरपालिकाद्वारा आर्थिक वर्ष २०८१/०८२ सार्वजनिक गरिएको तथ्यांक अनुसार विभिन्न सचेतना, क्षमता अभिवृद्धि, आयआर्जन तथा पोषणमैत्री गतिविधि मार्फत २ हजार १ सय २ जना प्रत्यक्ष लाभान्वित भएका छन्, जसले समग्र पोषण सुधारतर्फ सकारात्मक संकेत गरेको छ।
तथ्यांकअनुसार पोषणमैत्री वडा निर्माण र स्थानीय शासनलाई दिगो बनाउने उद्देश्यले वडास्तरीय समिति तथा सरोकारवालाहरूलाई केन्द्रित गरी व्यापक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। यसअन्तर्गत मात्र ४ सय ५२ जना भन्दा बढी सहभागी गराइएको छ, जसले स्थानीय तहमै पोषणमैत्री वातावरण निर्माणको आधार तयार गरेको छ।
बालपोषण र सामाजिक सुरक्षाको महत्वबारे २ सय ५४ महिलालाई अभिमुखीकरण गरिएको तथ्यले आमाको चेतनास्तर वृद्धि गर्दै बाल स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुगेको देखिन्छ। यस्तै, सुनौला हजार दिनका आमाहरुलाई लक्षित गर्दै तरकारी बीउ वितरण (३५० लाभान्वित), कुखुरा पालन सहयोग (३०० लाभान्वित) तथा आयआर्जन अनुदान (२८ लाभान्वित) जस्ता कार्यक्रमले पोषणलाई प्रत्यक्ष रूपमा खाद्य सुरक्षासँग जोड्ने प्रयास गरिएको स्पष्ट हुन्छ।
नगरपालिकाले पोषण सुधारलाई केवल स्वास्थ्यसँग सीमित नराखी कृषि, आयआर्जन र सरसफाइसँग समन्वय गरी अघि बढाएको देखिन्छ। स्थानीय रैथाने बाली प्रवद्र्धन, खानेपानी तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण (२४९ लाभान्वित) जस्ता कार्यक्रमहरूले दिगो पोषण प्रणाली विकासमा टेवा पु¥याएका छन्।
त्यसैगरी, बालविकास केन्द्रका सहजकर्ता, युवा तथा बाल सञ्जाल सदस्यहरूलाई समेत पोषण सम्बन्धी अभिमुखीकरण गरिएको छ, जसले दीर्घकालीन व्यवहार परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषगरी, “सुनौला हजार दिन” लक्षित परिवारका सदस्यहरूलाई व्यवहार परिवर्तन सम्बन्धी तालिम दिइनु कार्यक्रमको प्रभावकारिताको प्रमुख सूचकका रूपमा देखिन्छ।
यस्ता गतिविधिहरूले बाणगंगा नगरपालिका पोषणका हिसाबले सुदृढ स्थानीय तहका रूपमा अघि बढिरहेको पुष्टि गर्छन्। पोषणमैत्री वडा घोषणा, समुदाय स्तरमै चेतना अभिवृद्धि र आय आर्जनसँग जोडिएका कार्यक्रमले कुपोषण न्यूनीकरणतर्फ ठोस आधार तयार गरेको छ।
यद्यपि उपलब्धि सकारात्मक रहे पनि आगामी दिनमा कार्यक्रमको प्रभावकारिता थप बढाउन केही महत्वपूर्ण पक्षहरूमा ध्यान दिन आवश्यक देखिन्छ। पोषण कार्यक्रमको निरन्तर अनुगमन र मूल्यांकनलाई अझ सुदृढ बनाउने, पुरुष सहभागिता बढाएर परिवारस्तरीय व्यवहार परिवर्तनलाई थप प्रभावकारी बनाउने, विपन्न तथा जोखिम समूहलाई अझ लक्षित गरी कार्यक्रम विस्तार गर्ने, स्थानीय उत्पादन र पोषणबीचको सम्बन्धलाई थप मजबुत बनाउने। समग्रमा, बहुक्षेत्रीय दृष्टिकोण अपनाएर सञ्चालन गरिएको पोषण कार्यक्रमले बाणगंगामा स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। निरन्तरता र सुधारका प्रयाससँगै यसलाई अझ नमुना कार्यक्रमका रूपमा विकास गर्न सकिने देखिन्छ।








प्रतिक्रिया