काठमाडौँ, १४ वैशाखः
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका काम थाल्न निर्देशन दिनुभएको छ । थापाथलीस्थित वागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको निरीक्षण गर्दै उपप्रमुख डङ्गोलले खाली गराइएको र अब गराइने ठाउँको संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न निर्देशन दिनुभएको हो । कार्यवाहक प्रमुख डङ्गोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गर्नुभएको थियो । वडा नं ११ का अध्यक्ष एवं कामपाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए । यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन् । वागमती नदी खण्डको सिनामङ्गलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्तीअन्तर्गत वडा नं ९ तर्फ १६२ घरधुरी र वडा नं ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर)मा ४७६ घरटहरा थिए । यीमध्ये वैशाख १२ गते वडा नं ९ तर्फका घरटहरा खाली गराइयो । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनारमा तीन हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । समितिको प्रतिवेदनले, काठमाडौँ महानगरभित्र दुई हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ । तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौँ उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।








प्रतिक्रिया