लिज (बेल्जियम), १५ वैशाख (रासस/एएफपी) :
आधुनिक युद्ध र राजनीतिक तनावका बीच इरान विश्वको ध्यानको केन्द्र बनेको बेला एक फ्रान्सेली पुरातत्त्वविद्ले भने हजारौँ वर्ष पुरानो सांस्कृतिक रहस्य उजागर गर्ने उल्लेखनीय सफलता हासिल गरेका छन् । फ्रान्कोइस डेसेटले लामो समयदेखि बुझ्न असम्भव मानिएको ‘लिनियर एलामाइट’ नामक करिब चार हजार वर्ष पुरानो लेखन प्रणालीलाई व्याख्या गर्ने दिशामा महत्त्वपूर्ण प्रगति गर्नुभएको हो । बेल्जियमस्थित युनिभर्सिटी अफ लिजमा कार्यरत ४३ वर्षीय डेसेटले इरानको ऐतिहासिक पहिचानसँग जोडिएको यस लिपि अन्य लेखन प्रणालीभन्दा भिन्न र मौलिक रहेको बताउनुभयो । उहाँका अनुसार इरानमा प्रयोग भएका धेरैजसो लिपिहरू बाहिरबाट आएका भए पनि लिनियर एलामाइट भने यही भूभागमा विकास भएको एक मात्र स्थानीय प्रणाली हो । क्युनिफर्म, अरबी वा ग्रिक वर्णमाला जस्ता प्रणालीहरू पश्चिमबाट आयातित भएको उहाँले स्पष्ट पार्नुभयो । डेसेटको यस विषयप्रतिको रुचि सन् २००६ मा इरानको दक्षिणी क्षेत्रमा गरिएको उत्खननमा सहभागी हुँदा सुरु भएको थियो । त्यतिबेला फेला परेका ट्याब्लेटहरूमा कुँदिएका ७७ प्रकारका चिह्नहरूले उहाँलाई गहिरो अनुसन्धानतर्फ आकर्षित गरेका थिए । ती चिह्नहरूमा हीराकृति, घुमाउरो र विभिन्न ज्यामितीय आकृतिहरू समावेश छन्, जुन प्राचीन एलाम सभ्यतासँग सम्बन्धित मानिन्छ । यो लिपि पहिलोपटक सन् १९०३ मा फ्रान्सेली टोलीले सुसा क्षेत्रको उत्खननका क्रममा पुनः पत्ता लगाएको थियो । तर पर्याप्त सामग्री अभावका कारण दशकौँसम्म यसलाई बुझ्न सकिएको थिएन । डेसेटले पनि प्रारम्भिक वर्षहरूमा धेरै असफल प्रयासहरू भोग्नुपरेको स्वीकार गर्नुभयो । उहाँका शब्दमा, “धेरै पटक अनुसन्धान बन्द गल्लीमा पुगेको अनुभव भयो ।” तर लन्डनस्थित महबुबियन सङ्ग्रहमा सुरक्षित राखिएका अभिलेखहरूमा पहुँच पाएपछि अनुसन्धानले नयाँ मोड लिएको उहाँले बताउनुभयो । निर्वासित इरानी परिवारको नाममा रहेको उक्त सङ्ग्रहमा रहेका शिलालेखयुक्त भाँडाकुँडाबाट उहाँले थप १० नयाँ पाठहरू अध्ययन गर्ने अवसर पाउनुभयो । उहाँका अनुसार यिनै सामग्रीले लिपि बुझ्ने ‘कुञ्जी’ प्रदान गरे । डेसेटले विशेष गरी उचित नामहरू—जस्तै स्थान, देवता र शासकहरूको नाम—मार्फत लिपिको अर्थ खुलाउन सफल हुनुभएको हो । उहाँले प्राचीन इजिप्टेली चित्रलिपि व्याख्या गर्ने जीन–फ्रान्कोइस च्याम्पोलियनसँग आफ्नो काम तुलना गर्दै च्याम्पोलियनले जस्तै आफूले पनि शासकहरूको नामबाट सुरुआत गरेको बताउनुभयो । उहाँका अनुसार करिब ईसापूर्व १९५० तिर शासन गरेका ‘सिल्हाहा’ नामक शासक लिपि बुझ्ने प्रक्रियामा निर्णायक प्रमाण बने । चारवटा प्रतीकहरूको अनुक्रममा अन्तिम दुई चिह्न दोहोरिएको देखेपछि उहाँले त्यो नामसँग मेल खाने निष्कर्ष निकाल्नुभएको थियो । यही आधारमा उहाँले हालसम्म ४५ वटा शिलालेख अध्ययन गर्न सफल हुनुभएको छ । अब डेसेटले अझ पुरानो ‘प्रोटो–एलामाइट’ लिपिमा काम गर्ने योजना बनाइरहनुभएको छ, जुन संसारकै सबैभन्दा प्राचीन लिखित स्रोतहरूमध्ये एक मानिन्छ । उहाँको अनुसन्धानले मानव सभ्यताको प्रारम्भिक चरणबारे नयाँ जानकारी दिन सक्ने अपेक्षा गरिएको छ । उहाँको अनुसन्धानले हजारौँ वर्ष पुरानो इतिहास उजागर गरिरहेको भए पनि वर्तमान विश्व परिस्थितिले त्यसलाई छायाँमा पारिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा चेतावनी दिइरहेको अवस्थामा डेसेटले आफ्नो कामले इरानको समृद्ध सांस्कृतिक विरासतलाई विश्वसामु उजागर गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थिति सामान्य भएपछि यस अनुसन्धानले इरानी संस्कृति र पहिचानप्रति सकारात्मक प्रभाव पार्नेछ भन्ने आशा गरेको छु ।” –––








प्रतिक्रिया