अर्थ-वाणिज्य

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै



वीरगञ्ज (पर्सा), २४ वैशाख

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । कार्यालयले विगतमा दैनिक औसतमा पाँच हजार किलोलिटर डिजेल र दुई हजार किलोलिटर पेट्रोल बिक्री गर्ने गथ्र्याे । तर, हाल कार्यालयबाट हुने इन्धनको बिक्रीमा भने गिरावट आएको जनाएको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका प्रमुख अशोक साहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा केही कमी आएको बताउनुभयो । “अहिले डिजेल दैनिक औसतमा तीन हजार ५०० किलोलिटर बिक्री हँुदै आइरहेको छभने पेट्रोल दैनिक एक हजारदेखि एक हजार पाँच किलोलिटर औसतमा बिक्री हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “पेट्रोल र डिजेलको मूल्य बढी भएकाले पनि स्वाभाविक रुपमा बिक्रीमा कमी आएको होला ।” नेपाल निर्माण व्यवसायी महासङ्घले भने पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दाबी गरेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष रवि सिंहले इन्धनमा भारी मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो । “विगतमा मासिक २० हजार लिटर इन्धन खर्च गर्ने निर्माण व्यवसायीले अहिले निकै कममात्रै इन्धन खर्च गरेका छन्”, उहाँले भन्नुभयो, “इन्धनको मूल्य अत्यधिक बढेकाले पनि निर्माण व्यवसायी काम गर्न पनि गाह्रो मानेका छन् ।” उहाँले निर्माण व्यवसायीले पुललगायत संरचनामा भने महँगो मूल्यको इन्धन प्रयोग गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार केही समयअघिसम्म प्रतिकिलोग्राम ८० रुपैयाँमा पाइने बिटुमिन अहिले करिब प्रतिकिलोग्राम १५५ भन्दा माथि पुगेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार अमलेखगन्जमा १७ हजार ७४८ किलोलिटर पेट्रोल र २५ हजार ८४३ किलोलिटर डिजेल भण्डारण गर्ने क्षमता छ । यहाँ रहेको भण्डारणले पेट्रोल सात दिन र डिजेल चार दिन पुग्ने बताइन्छ । कार्यालयले भारतीय आयल निगमबाट पाइपलाइनमार्फत पेट्रोल एक चरणमा ११ हजार किलोलिटर र डिजेल भने २४ हजार किलोलिटर ल्याउने गर्दछ । कार्यालयका डेपुटी म्यानेजर जवाहरकुमार यादवले भारतबाट अहिले पेट्रोलियम पदार्थको आयात गर्न कुनै अप्ठ्यारो नरहेको स्पष्ट पार्नुभयो । “भारतबाट पेट्रोलियम पदार्थ सहज रुपमा आइरहेको छ”, उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्य बढेर आए तापनि आयातमा भने समस्या छैन ।” वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिनामा पाँचैथरिका एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ मूल्यपर्ने पेट्रोलियम पदार्थ आयात भएको छ । जबकि गत आवको सोही महिनामा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँ मूल्य पर्ने पाँचथरिका पेट्रोलियम पदार्थ आयात भएको थियो । चालु आवको नौ महिनामा ७८ अर्ब ७९ करोड रुपैयाँ मूल्य बराबरको डिजेल आयात भयो भने ३१ अर्ब आठ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोल आयात भएको थियो । —

प्रकाशित : २४ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६