खोज–अनुसन्धान

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो



गलकोट (बागलुङ), २५ वैशाख

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुनसकेको थिएन । हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्र्किएका छन् । आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले छवटा सिकार ब्लकमा राखेर फर्केको बताउनुभयो । क्यामेराले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछ । क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ । ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ । “हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ, अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ”, सुवेदीले भन्नुभयो, “सम्भावित चितुवाको बासस्थान, ओडार, जङ्गललगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ ।” हिउँचितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिक खटिएका थिए । ढोरपाटन सिकार आरक्षको तीन हजारदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको बासस्थान रहेको पाइएको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ । वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि सङ्कलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो । रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । यस्तै हिउँचितुवाको जङ्गलमा भेटिएको दिसा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिह्न तथा सङ्केत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको सङ्ख्या गणना गर्न सकिन्छ ।

प्रकाशित : २५ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६