कपिलवस्तु, २६ बैशाख
शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, लवनी, कपिलवस्तुले आर्थिक वर्ष २०८१/०८२ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण अभियानमा उल्लेखनीय प्रगति हासिल गरेको छ । पालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल ८ हजार ५ सय ७४ लाभग्राही मध्ये ७ हजार ७ सय १८ जनाले नवीकरण गराएका छन् । यो कुल ९० दशमलव ०२ प्रतिशत प्रगति हो ।
सामाजिक सुरक्षा कार्यक्रम राज्यले नागरिकको आधारभूत संरक्षणका लागि सञ्चालन गरेको महत्वपूर्ण अभियान हो । शुद्धोधन गाउँपालिकाको पछिल्लो तथ्यांकले अधिकांश लक्षित समुदाय सेवा दायरामा समेटिएको देखिए पनि केही समूहमा अझै पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
तथ्यांक अनुसार सबैभन्दा धेरै लाभग्राही रहेको “क्षेत्र तोकिएका बालबालिका” समूहमा ४ हजार ३ सय १३ जनामध्ये ३ हजार ७ सय जनाले मात्र नवीकरण गराएका छन् । यस समूहको नवीकरण प्रतिशत ८५ दशमलव ७९ रहेको छ, जुन अन्य समूहको तुलनामा न्यून हो । यसले बालबालिका सम्म सूचना, पहुँच र अभिभावकको सक्रिय सहभागिता अझै सुदृढ गर्नुपर्ने संकेत गरेको छ ।
त्यसैगरी दलित बालबालिकातर्फ ४ सय ६३ मध्ये ४ सय १७ जनाले नवीकरण गराउँदै ९० दशमलव ०६ प्रतिशत प्रगति हासिल भएको छ । लोपोन्मुख जाति समूहमा ६१ मध्ये ५४ जनाले नवीकरण गराएका छन्, जसको प्रतिशत ८८ दशमलव ५२ रहेको छ ।
जेष्ठ नागरिकतर्फ भने उत्साहजनक अवस्था देखिएको छ । जेष्ठ नागरिक दलित समूहमा ९५ दशमलव ७४ प्रतिशत नवीकरण भएको छ भने जेष्ठ नागरिक अन्य समूहमा ९४ दशमलव ५१ प्रतिशत र जेष्ठ नागरिक एकल महिलामा ९४ दशमलव ०९ प्रतिशत प्रगति भएको छ । यसले वृद्धवृद्धालाई सामाजिक सुरक्षा सेवामा जोड्न पालिकाले प्रभावकारी पहुँच विस्तार गरेको देखिन्छ ।
विधवा महिलातर्फ सबैभन्दा उच्च ९६ दशमलव ६७ प्रतिशत नवीकरण भएको तथ्यांकले यो वर्गप्रति राज्यको सेवा पहुँच प्रभावकारी बनेको संकेत गर्दछ । पूर्ण अपाङ्गता भएका लाभग्राहीमध्ये ९३ दशमलव ८८ प्रतिशत र अति अशक्त अपाङ्गता भएका लाभग्राहीमध्ये ९५ दशमलव ३० प्रतिशतले नवीकरण गराएका छन् ।
सामाजिक सुरक्षा भत्ता केवल आर्थिक सहयोग मात्र नभई राज्यप्रतिको भरोसा र सामाजिक संरक्षणको आधार पनि हो । शुद्धोधन गाउँपालिकाको तथ्यांकले अधिकांश लाभग्राही सेवा प्रणालीमा आबद्ध भए पनि अझै करिब ८ सय ५६ जना लाभग्राही नवीकरण प्रक्रियाबाट बाहिर रहेको देखाएको छ ।
यस अवस्थालाई थप प्रभावकारी बनाउन स्थानीय तह, जनप्रतिनिधि र सम्बन्धित शाखाले छुटेका लाभग्राही सम्म सूचना र सेवा पु¥याउन थप सक्रियता बउाढने पालिका अध्यक्ष कमलेश शरण चौधरीले बताउनु भयो । विशेषगरी बालबालिका, लोपोन्मुख समुदाय तथा पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गर्दै सचेतनामूलक अभियान र सहज सेवा विस्तार गर्न सके सामाजिक सुरक्षा कार्यक्रम अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया