खोज–अनुसन्धान

कृष्णनगरमा सर्पदंशबाट महिला बढी प्रभावित



कपिलवस्तु, २७ बैशाख

कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय, कृष्णनगर, कपिलवस्तुले स्थानिय गैसस, अन्तराष्ट्रिय गैसस र कृष्णनगर नगरपालिकाको सहकार्यमा तयार पारि सार्वजनिक गरिएको आ.व. २०७९।०८० को तथ्यांकअनुसार सर्पदंशका घटनामा महिला बिरामीको संख्या पुरुष भन्दा बढी देखिएको छ। वर्षभरिमा कृष्णनगर नगरपालिकाबाट सर्पको टोकाइपछि विभिन्न उपचार केन्द्रमा पुग्ने बिरामीको संख्या ३९ रहेको तथ्यांकले जनाएको छ।
तथ्यांक अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कृष्णनगरबाट १ जना पुरुष बिरामी उपचारका लागि पुगेका थिए। उक्त बिरामीलाई अविषालु सर्पले टोकेको पुष्टि भएको थियो।
त्यसैगरी कपिलवस्तुको गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा कृष्णनगर नगरपालिकाबाट ३८ जना बिरामी उपचारका लागि पुगेका थिए। तीमध्ये १५ जना पुरुष र २३ जना महिला रहेका छन्। उपचार केन्द्रको विवरण अनुसार १३ जनालाई विषालु सर्पले टोकेको थियो भने २५ जना अविषालु सर्पको टोकाइबाट प्रभावित भएका थिए।
यो तथ्यांकले ग्रामीण तथा खेतीपातीमा संलग्न समुदाय विशेषगरी महिलाहरू सर्पदंशको बढी जोखिममा रहेको संकेत गरेको छ। वर्षायाम र गर्मीयाममा खेतबारी, घाँसदाउरा तथा घर आसपासको सरसफाइमा पर्याप्त सावधानी नअपनाउँदा सर्पदंशका घटना बढ्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
विशेषज्ञहरूका अनुसार सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल स्वास्थ्य संस्थामा पुग्नु नै सुरक्षित उपाय हो। समयमै उपचार पाएमा विषालु सर्पको टोकाइबाट हुने जटिलता तथा मृत्यु जोखिम कम गर्न सकिन्छ।
कृष्णनगर नगरपालिकाले सर्पदंश न्यूनीकरणका लागि जनचेतना मूलक कार्यक्रम, घर वरपर सरसफाइ, रातिको समयमा टर्च प्रयोग, तथा जोखिमयुक्त क्षेत्रमा सचेतना विस्तार गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ। स्रोत ः लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल तथा गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६