खोज–अनुसन्धान

शिवराज नगरपालिकामा भौतिक पूर्वाधार विकासले लियो गति

सडकदेखि विद्यालय भवनसम्म उल्लेखनीय प्रगति



कपिलवस्तु, २७ बैशाख

कपिलवस्तुको शिवराज नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आ.व. २०८१/०८२ मा भौतिक पूर्वाधार विकासतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। सार्वजनिक गरिएको प्रगति विवरण अनुसार नगरपालिकाले सडक, नाला, सिंचाइ, विद्युतिकरण, विद्यालय भवन तथा सामुदायिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विकासका योजनाहरूलाई तीव्र रूपमा अघि बढाएको देखिएको छ।
तथ्यांक अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा ७.३७० किलोमिटर सडक कालोपत्रे गरेको छ भने २.६०० किलोमिटर सडक स्तरोन्नति गरिएको छ। त्यसैगरी १२.५६७ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नतिको कार्य सम्पन्न भएको छ। ग्रामीण क्षेत्रमा सडक पहुँच विस्तारसँगै नागरिकको आवागमन सहज बन्नुका साथै आर्थिक गतिविधि समेत बढ्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले सडक पूर्वाधारसँगै सडक ढलानतर्फ पनि प्रगति गरेको छ। तथ्यांकअनुसार ४.२४५ किलोमिटर सडक ढलान गरिएको छ भने ७.१९२ किलोमिटर नाला निर्माण सम्पन्न भएको छ। यसले वर्षायाममा हुने डुबान तथा सडक क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कृषि उत्पादन वृद्धि र सिँचाइ पहुँच विस्तारका लागि ६६ वटा सिँचाइ ट्युबवेल निर्माण गरिएको छ। त्यस्तै १ सय १६ वटा नल्का जडान गरिएको तथ्यांकमा उल्लेख छ। यसले कृषिमा निर्भर स्थानीय किसानलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा तथा प्रशासनिक पूर्वाधार तर्फ पनि नगरपालिकाले उल्लेखनीय काम गरेको छ। गत आर्थिक वर्षमा ३ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् भने ५ वटा विद्यालय भवन निर्माण गरिएको छ। साथै १६ वटा कभर्ड हल निर्माण, १६ वटा ट्रस निर्माण तथा १ वटा बाउन्ड्रीवाल निर्माण गरिएको छ।
विद्युतीकरण तर्फ १.९८ किलोमिटर क्षेत्रमा विस्तार गरिएको विवरणले देखाएको छ। यसले ग्रामीण बस्तीमा आधारभूत सेवाको पहुँच विस्तार हुँदै गएको संकेत गर्दछ।
नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई केवल निर्माणमा सीमित नराखी नागरिकको जीवनस्तर सुधारसँग जोडेर अघि बढाएको जनाएको छ। सडक, शिक्षा, कृषि र आधारभूत सेवामा गरिएको लगानीले दीर्घकालीन आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले पनि विकास निर्माणका कार्यले गाउँ–टोलमा सहजता थपिएको बताएका छन्। विशेषगरी सडक, सिंचाइ र विद्यालय भवन निर्माणले ग्रामीण क्षेत्रको विकासमा नयाँ आशा थपेको सरोकारवालाहरूको भनाइ छ। स्रोत ः शिवराज नगरपालिका नगरकार्यपालिकाको कार्यालय, कपिलवस्तु।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६