लुम्बिनी, २६ वैशाखः नेपाल पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन सुरु भएको छ ।सम्मेलनको आज पहिलो दिनको प्रथम बहसमा सहभागीहरूले पत्रकारिताको भविष्य जस्तोसुकै चुनौती आए पनि कहिले कमजोर नहुने बताए । स्थानीय मिडिया कसरी बचाउनेसम्बन्धी छलफल कार्यक्रममा सहभागीले सम्मेलनमा सामाजिक न्यायको पक्षमा पत्रकारिताका लागि जोड दिएका थिए ।नेपाल पत्रकार महासङ्घ रुपन्देहीको आयोजनामा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको सङ्कथन) अन्तर्गत स्थानीय मिडिया कसरी बचाउनेसम्बन्धी छलफल कार्यक्रममा दैनिकपत्र दैनिकका प्रधानसम्पादक÷सञ्चालक डा बालकृष्ण चापागाईँले समाज रहेसम्म पत्रकारिता रहिरहने बताउनुभयो । लुम्बिनी सामुदाटिेलिभिजनका अध्यक्ष एजाज आलमले सञ्चार क्षेत्र मात्र नभई आर्थिक सङ्कटका कारण धेरै क्षेत्र प्रभावित भएको बताउनुभयो । ग्लोबल सञ्चारगृहका प्रबन्ध सम्पादक गौतम भुसालले अब धेरै होइन, थोरै र राम्रो मिडिया हाउसको आवश्यकतामा जोड दिनुभयो । रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले मिडियालाई सेवामूलक उद्योगका रूपमा अगाडि बढाउन आवश्यक भएको बताउनुभयो । लुम्बिनी खबरका सम्पादक÷सञ्चालक कमल रायमाझीले मिडिया सञ्चालनमा चुनौती भए पनि चुनौतीलाई अवसरका रूपमा बदल्न आवश्यक रहेको बताउनुभयो ।कार्यक्रमको दोस्रो सत्रअन्तर्गतको ‘कसरी उभो लाग्छ उद्योग व्यवसाय’सम्बन्धी छलफल कार्यक्रममा रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्यम गर्न धेरै अवरोध रहेका बताउनुभयो । उहाँले स्वदेशी वस्तुको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले राष्ट्रिय उत्पादनले प्राथमिकता पाउन नसकेको बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको कुरा राज्यले सुन्नै नचाहेको आरोप लगाउनुभयो ।रुपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकालले उद्योग–व्यापारको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउनुभयो । उहाँले सरकारको नीति व्यवसायमैत्री हुन नसकेको बताउनुभयो । कार्यक्रमको तेस्रो सत्रमा बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिकाले गरेका कतिपय काम नागरिकलाई चित्त नबुझ्न सक्ने बताउनुभयो । नगरपालिकाले गरेका असल अभ्यासबारे समाचार सम्प्रेषण गर्नुका साथै कमीकमजोरी पनि उजागर गर्न उहाँले मिडियालाई आग्रह गर्नुभयो । त्यस्तै देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले काम गर्ने क्रममा धेरै कानुनी जटिलता रहेको बताउनुभयो । उहाँले नगरपालिकामा कर्मचारीको अभाव र स्थानीय स्रोत अत्यन्तै कम रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरेले मिडियाले समस्याको उठान गरिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले आलोचनाबाट डराउन नहुने बताउनुभयो ।कार्यक्रममा कुखुरापालक किसान विशाल थापाले आफूले आर्जन गरेको शिक्षाले गुजारा चल्छ कि चल्दैन भनेर सोच्नुपर्ने बेला आएको बताउनुभयो । उद्योगी कृष्णप्रसाद पाण्डेले स्थानीय सरकारले लगानी गरेको तालिमबाट कत्तिको प्रतिफल प्राप्त भयो भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।
२७ बैशाख २०८३, आइतबार








प्रतिक्रिया