ब्रेकिंग न्युज

बालेन–मोदीबीच कसियो अंकमाल, फुकेनन् विवादका बुँदाहरू



७ मंसिर, काठमाडौं

समग्र हाउभाउ र संकेत हेर्दा मोदी सुरुमा निकै गम्भीर देखिन्थे, अनि बालेन चाहिँ स्वाभाविक देखिन प्रयत्न गरिरहेका थिए । राजनीतिक सम्बन्ध नयाँ उचाईमा उठाउन खोजेको देखिए पनि समग्र प्रतिफल लिन नेपाली पक्ष चुकेको देखियो ।
७ मंसिर, काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीले बालेन शाहलाई विश्वकै कान्छा प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्रसंघ महासभामा सुन्न पाएको भन्दै प्रशंसा बर्साए । सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा मोदीले त्यतिमात्रै भनेनन्, एक युवा प्रधानमन्त्रीका रुपमा बालेनको दूरदर्शिता र सोचको स्पष्टतासमेत पछिल्ला केही घण्टाहरूमा भएका छलफलमार्फत् आफूले पाएको मूल्यांकन सुनाए ।

पत्रकार भेटअघि बालेन र मोदीबीच समूहमा अनि एक्लाएक्लै वार्तासमेत भएको थियो । नेपालको पछिल्लो चुनावमार्फत् बालेनले आर्जेको लोकप्रियताको मोदीले प्रशंसा गरे । नेपाल–भारत सम्बन्धमा बीचका केही वर्ष उतारचढाव आएको भन्दै शिखर भ्रमणहरू स्थापित भइनरहेका बेला प्रधानमन्त्री बालेनको यो भ्रमणले राजनीतिक तथा कूटनीतिक सम्बन्धमा पुनर्ताजगी आएको महसुस सोमबारको वार्ता तथा सहमतिले दिएको छ ।
भेट सुरु गर्नुअघि दुई शीर्ष कार्यकारीले आपसमा गम्लंग अँगालो हाले । त्यो अंकमालको न्यानोपनसँगै वार्तामा छिरेका नेताहरू पत्रकारसँग बस्नुअघि भने केही गम्भीर देखिन्थे ।

समग्र हाउभाउ र संकेत हेर्दा मोदी सुरुमा निकै गम्भीर देखिन्थे, अनि बालेन चाहिँ स्वाभाविक देखिन प्रयत्न गरिरहेका थिए । यो संयोग नै मानौं, प्रधानमन्त्री बनेयता नेपालमा पत्रकारसँग नबसेका प्रधानमन्त्री बालेनले आफ्नो पहिलो पत्रकार सम्मेलन समकक्षी मोदीसँग गरे, नयाँ दिल्लीमा ।
दुई खर्ब ४० अर्ब रुपियाँको विकास सहायता नेपाललाई दिने मोदीको घोषणा छ । यसमा कतिचाहिँ सहुलियतपूर्ण ऋण हो, कति चाहिँ अनुदान स्पष्ट हुन बाँकी छ ।

सन् २०१४ मा नेपाल आएका बेला मोदीले नेपालका लागि पूर्वाधार तथा उर्जामा लगानी गर्न भन्दै झन्डै एक खर्ब रुपियाँ बराबर सहुलियतपूर्ण ऋण घोषणा गरेका थिए । यस्तै
सन् २०१८ मा पनि जनकपुरकेन्द्रित झन्डै एक अर्ब बराबरको सहयोग घोषणा भएको थियो । तर नेपालसँग राजनीतिक समझदारी उचाईमा छ भन्ने देखाउनका लागि यसपल्ट निकै महत्वाकांक्षी सहयोग भारतले घोषणा गरेको छ ।

यी सब प्रयासका बीच यस भ्रमणमा निकै अहम् एजेन्डा बन्न पुगेको भैरहवा, महेन्द्रनगर, जनकपुरको हवाई प्रवेश विन्दू अर्थात् एयर रुटमा सहमति निकाल्न भने दुई देशका प्रमुख कार्यकारीहरूले अझै समय लाग्न सक्ने बताएका छन् ।

उच्च सरकारी स्रोतका अनुसार भारतले बागडोग्रालाई रणनीतिक महत्व दिँदै त्यस एयरपोर्टका लागि नेपालतर्फका केही प्रवेशविन्दूहरू खुलाउन प्रस्ताव गरेको थियो । यसलाई भारतीय पक्षले ‘एयररुटको एजेन्डामा प्याकेज डिल गरौं’ भन्ने नाम नै दिएको थियो । प्याकेज डिलका नाममा प्रधानमन्त्री बालेन र उनको टिमले दिल्ली पुग्ने बेलासम्म यसबारे नेपालले उठ्नसक्ने सम्भावित चुनौतीको आभास पाइसकेको थियो ।

भारत र बंगलादेशतर्फको सैन्य बेसलाई लक्षित गर्दै प्रवेश विन्दुको माग गरिएको, चिकन नेक नजिक रहेकाले भूसामरिक संवेदनशीलता बढ्ता रहेको, अनि भौगोलिक दृष्टिले पनि कठिन भन्दै यो विषय कतिपय आरोप–प्रत्यारोपबीच विवादित बन्न पुग्यो । अनि त्यसै विवादलाई देखाउँदै भारतीय पक्षले नेपालले लामो समयदेखि माग गरिरहेको सिमराबाहेकका अरु हवाई प्रवेश विन्दू खुलाउने प्रस्तावलाई यसपल्ट अनदेखा गरिदियो ।

भ्रमणमण्डलका नेताहरूले अनौपचारिक गफमा भनेअनुसार प्रधानमन्त्री बालेनको भ्रमण सकिएपछि पनि यस विषयमा कुरा हुन सक्ने छ । ‘संयुक्त वक्तव्य आउने बेलासम्म हेरौं । नत्र अहिलेलाई यो विषय थाती नै रह्यो भन्ने मान्नुपर्छ । पछि सबै सहमति हुन सक्यो भने पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीको तहमा यो विषय टुंगिन पनि सक्छ,’ एक उच्च अधिकारीले भने ।

तर यसैका आधारमा प्रधानमन्त्री बालेनको भ्रमण सफल वा असफल भयो भन्ने निष्कर्ष ननिकाल्न पनि उनले आग्रह गरे । मझौला स्तरका सहरहरूबीच हवाई सम्पर्क स्थापित गर्ने प्रयासले समेत यस भ्रमणमा पूर्णता पाएन । भारतीय पक्षले भने नेपालबाट एयर रुटका विषयमा प्रस्ताव नै नगएकाले छलफल नहुनु स्वाभाविक रहेको दाबी नवभारत टाइम्सलगायत केही प्रेसमार्फत गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण सकिने बेलासम्म संयुक्त वक्तव्य आउने, त्यसमा केही विषयहरू पर्न सक्ने सम्भावना भने उत्तिकै छ । यो समीक्षा अहिलेसम्मको उनीहरूको छलफल र त्यसबाट सार्वजनिक संयुक्त समझदारी, सहमति र सम्झौतामा आधारित छ ।
सबैभन्दा मूख्य विषय सीमा विवादको हो, जसबारे प्रधानमन्त्री बालेन स्वयंले विगतमा निकै चर्कोसँग यो विषय सामाजिक सन्जालमार्फत् उठाएका थिए । मोदीसँग वार्ता र समग्र दिल्ली भ्रमणमा यो विषयले प्रवेश पाएको देखिँदैन । स्मरण रहोस्, यसअघि मोदीसँग नेपालको तर्फबाट वार्ता गरेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमण क्रममा कुटनीतिक माध्यमबाट सीमा विवादको हल खोज्न दुवै देश तयार रहेको प्रसंग लिखित रुपमा उल्लेख गराएका थिए । अहिले भने त्यो शब्द उल्लेख भएको देखिँदैन । अनि इपिजी प्रतिवेदनको शब्द कतै उल्लेख भएको महसुस भएको छैन ।

यस्तै महाकाली सन्धिको बेलादेखि नै बहुचर्चित पन्चेश्वर परियोजनाको कार्यान्वयनतर्फ दुवै प्रधानमन्त्रीहरूले चासो देखाएको पाइएन । भ्रमणअघि यो विषय उत्तिकै महत्वका साथ उठाइएको थियो । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजना शिलान्यास हुँदैगर्दा महाकालीको विषय भने ३ दशकपछि पनि ओझेल नै पर्‍यो ।

यद्यपि यो भ्रमण नै हुँदैन कि भन्ने आशंकाबीच नयाँदिल्लीमा नेपाली प्रधानमन्त्री पुग्नुलाई कुटनीतिकहरूले उपलब्धि भनी गणना गरेका छन् । बालेनले मोदीलाई नेपाल आउन निम्तो दिएका छन् । दुई देशबीच राजनीतिक स्तरको सम्बन्ध स्वाभाविकतामा फर्केको आकलन हुँदैगर्दा समग्र प्रतिफल लिनबाट नेपाली पक्ष चुकेको समीक्षा सुरु भएको छ ।

आर्थिक सहायता, व्यापार पारबहन क्षेत्रमा विभिन्न आदानप्रदानसँगै अरु पनि एजेन्डा समाविष्ट हुने अपेक्षा थियो । ती अपेक्षित एजेन्डामा थिए– सीमा विवाद समाधानमा रणनीतिक पाइला, एयररुट अनुमति । उर्जा तथा पूर्वाधार, कनेक्टिभिटी लगायत दुईपक्षीय सम्बन्धको अभिवृद्धि जस्ता एजेन्डामा भ्रमण केन्द्रित रहने बताइए पनि यसअघि चर्चा गरिएका विषयहरू तुलनात्मक रुपमा ओझेलमा परेको अहिलेसम्म प्राप्त सूचनाबाट देखिन्छ । श्रोत अनलाईन खबर

प्रकाशित : ८ मंसिर २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६