कपिलवस्तु २७ बैशाख
बाणगंगा नगरपालिका ले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि कडा चेतावनीसहित सूचना जारी गरेपछि नगर क्षेत्रका विभिन्न स्थानमा व्यापक चर्चा र चासो बढेको छ। विशेषगरी जितपुर ४ नम्बर, बोड गाउँ, ओदारी लगायतका क्षेत्रमा नगरपालिकाको सूचनाले नयाँ तरंग सिर्जना गरेको स्थानीयहरू बताउँछन्।नगरपालिकाले हालै जारी गरेको सूचनामा सार्वजनिक जग्गा, सडक किनार, खोला–नाला, ताल–पोखरी, मठमन्दिर तथा विद्यालय क्षेत्र अतिक्रमण नगर्न आग्रह गर्दै अवैध संरचना हटाइने चेतावनी दिएको थियो। नगर प्रमुख चक्रपाणी अर्याल द्वारा हस्ताक्षरित सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय तहको दायित्व भएको उल्लेख गरिएको छ।
सूचना सार्वजनिक भएपछि नगरका विभिन्न क्षेत्रमा विगतदेखि सार्वजनिक जग्गामाथि निर्माण गरिएका घर, टहरा तथा व्यापारिक संरचनाबारे पुनः बहस सुरु भएको छ। स्थानीय बासिन्दाका अनुसार जितपुर ४ नम्बर, बोड गाउँ र ओदारी क्षेत्रमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरेर ठूला घर, पसल र व्यवसायिक संरचना निर्माण गरिएका उदाहरण प्रशस्तै छन्।
कतिपय स्थानमा सडक मिचेर पसल बनाइएको, सार्वजनिक बाटो साँघुरो बनाइएको तथा सरकारी स्वामित्वका खाली जमिन निजी प्रयोगमा ल्याइएको गुनासो लामो समयदेखि उठ्दै आएको थियो। नगरपालिकाको पछिल्लो सूचनापछि ती संरचनामाथि कारबाही हुन्छ कि हुँदैन भन्ने विषयमा स्थानीय स्तरमा व्यापक चासो देखिएको छ।
स्थानीय नागरिकहरू भने सार्वजनिक जग्गा संरक्षण अभियान निष्पक्ष र प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने माग गर्छन्। “सामान्य नागरिकमाथि मात्र कारबाही गरेर हुँदैन, प्रभावशाली व्यक्तिले कब्जा गरेका जग्गा पनि फिर्ता गरिनुपर्छ,” एक स्थानीयले बताए।यता नगरपालिकाका स्रोतका अनुसार सार्वजनिक सम्पत्तिको अभिलेखीकरण, स्थलगत अनुगमन तथा अतिक्रमित क्षेत्र पहिचान गर्ने काम क्रमशः अगाडि बढाइने तयारी भइरहेको छ। आवश्यकता अनुसार डोजर प्रयोग गरेर संरचना हटाउनेसम्मका कदम चाल्न सकिने संकेत पनि नगरपालिकाले दिएको छ।
सार्वजनिक जग्गा संरक्षणको विषय पछिल्लो समय देशभर संवेदनशील बन्दै गइरहेका बेला बाणगंगा नगरपालिकाको यो कदमलाई धेरैले सकारात्मक रूपमा हेरेका छन्। तर, प्रभावशाली व्यक्ति तथा व्यवसायिक समूहसँग जोडिएका संरचनामाथि नगरपालिकाले कत्तिको निष्पक्ष रूपमा कदम चाल्छ भन्ने विषयले भने आगामी दिनमा थप बहस सिर्जना गर्ने देखिएको छ।
२७ बैशाख २०८३, आइतबार








प्रतिक्रिया