बागमती

क्यान्सर रोगको प्रारम्भिक उपचारमा कामपाको सक्रियता



काठमाडौँ, २९ वैशाखः

एक हजार ७०० जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँचको क्रममा ६० जनाको ‘रिपोर्ट’मा एचपिभी पोजेटिभ देखिएको छ । कामपाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ देखि २०८३ वैशाख २१ गतेसम्ममा महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका क्रममा एचपिभी जाँच गरिएका दुई हजार ७७९ जना महिलामध्ये एक हजार ७०० जनाको ‘रिपोर्ट’ आउँदा ६० जनामा रिपोर्टमा एचपिभी पोजेटिभ देखिएको कार्यक्रमका ‘फोकल पर्सन’ चन्द्रा भट्टले जानकारी दिनुभयो । उहाँहरूमध्ये १८ जनाको ‘कल्पोस्कोपी’ गरिएको छ । रिपोर्टमा ‘पोजेटिभ’ देखिएका महिलाहरूलाई हरेक बुधबार र शुक्रबार वीर अस्पतालमा बोलाएर कल्पोस्कोपी गर्ने गरिएको छ । यस्तै, स्तन, पाठेघरको ‘भिडियो एक्सरे’ र स्तनको ‘मेमोग्राम’का लागि तालिका मिलाएर बिरामीहरूलाई बोलाउने गरिएको छ । यसरी गरिने जाँच र प्रारम्भिक उपचारका लागि लाग्ने शुल्क कामपाले व्यहोरेको छ । सेवाग्राहीलाई जँचाएको र प्रारम्भिक उपचार गरेको कुनै शुल्क लाग्दैन । ‘एचपिभी पोजेटिभ’ हुनु क्यान्सर हुनु होइन । यसबाट सङ्क्रमण भएर क्यान्सर हुन सक्ने जोखिम मात्रै हो । सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यो अवस्थाका तीन वटा तह (ग्रेड) हुन्छन् । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टू र तेस्रोलाई सिआइएन थ्री भनिन्छ । क्यान्सर परीक्षण गरिएको ३५ दिन अवधिमा तीन हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नाम दर्ता गरेर ‘रिफरल स्लिप’ लिनुभएको जानकारी दिँदै भट्टले, रिफरल स्लिप लिनुभएकामध्ये दुई हजार ९७५ जना मात्र जाँच गर्नुभएको बताउनुभयो । ह्युमन प्यापोलिमा भाइरस (एचपिभी) ५ देखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० देखि ६० वर्ष समूहका महिलाले हरेक ५ वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ । एक जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्कमा भएका, एचआइभीजस्ता यौनजन्य सङ्क्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका र कहिल्यै जाँच नगराएका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुने बताइएको छ । स्तन क्यान्सर यही कारणले हुन्छ भन्ने तथ्य सार्वजनिक भएको पाइँदैन । तर, उमेर बढ्दै जाँदा (विशेषगरी ५० वर्ष काटेपछि) स्तन क्यान्सरको जोखिम देखिन्छ । १२ वर्षअघि अर्थात् सानै उमेरमा महिनावारी हुनु, ढिलो उमेरमा (५५ वर्षपछि) महिनावारी सुक्नु, लामो समयसम्म हर्मोन फेरबदल गर्ने औषधिहरूको प्रयोग गर्नु, ३० वर्षको उमेरपछि पहिलो सन्तान जन्माउनु, सन्तानलाई स्तनपान नगराउनु, कहिल्यै गर्भवती नहुनु, अत्यधिक धुमपान गर्नु, मोटोपना, शारीरिक व्यायामको अभाव र अस्वस्थ्यकर खानपानलाई पनि क्यान्सरको कारणका रूपमा लिइन्छ ।

प्रकाशित : २९ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६