अर्थ-वाणिज्य

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी



सिद्धार्थनगर (भैरहवा), ३० वैशाख

होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो । भैरहवा–लुम्बिनी करिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माणसमेत जारी छ । लुम्बिनी आउने पर्यटकका साथै काठमाडौँ, पोखरा, चितवन र बर्दिया जाने पर्यटक पनि भैरहवा हुँदै आवतजावत गर्दा जिल्लामा बसोबास गर्ने क्रम बढेको व्यवसायी बताउँछन् । सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले रुपन्देहीमा पाँचतारे होटलको सङ्ख्या उल्लेख्य रहेको बताउनुभयो । उहाँले जिल्लामा सञ्चालनमा रहेका ठूला होटलसँगै थप नयाँ परियोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । हाल जिल्लामा हायात प्यालेस, टाइगर प्यालेस बाइ सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज सञ्चालनमा छन् । भैरहवा–लुम्बिनी सडकखण्डमा नयाँ पाँचतारे होटल निर्माण भइरहेको छ भने भैरहवाको बुद्धचोकमा अर्को पाँचतारे होटल अन्तिम चरणमा पुगेको बताइएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष राजेश महोत्राले भारतीय पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको बताउनुभयो । उहाँले सीमावर्ती भारतबाट आउने पर्यटकको सङ्ख्या उच्च रहेकाले रुपन्देहीलाई विश्राम तथा गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन व्यवसायी किशोर जोशीले जिल्लामा पर्यटकको बसाइ अवधि बढाउन थप आकर्षक गतिविधि, सांस्कृतिक कार्यक्रम र पर्यटन प्याकेज आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार लुम्बिनी भ्रमणपछि धेरै पर्यटक सोही दिन फर्किने भएकाले बसाइ लम्ब्याउन सकिए आर्थिक गतिविधि अझै बढ्नेछ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनका पूर्वअध्यक्ष अनिल ज्ञवालीले अन्तरराष्ट्रिय होटल व्यवस्थापन समूह रुपन्देहीमा प्रवेश गर्न थालेपछि जिल्लाको पर्यटन छवि थप बलियो बनेको बताउनुभयो । उहाँले हायात, मेरियट, होलिडे इन र क्राउन प्लाजाजस्ता अन्तरराष्ट्रिय ब्रान्डको चासोले लगानीकर्तामा उत्साह थपिएको उल्लेख गर्नुभयो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी बढेको छ । भैरहवा र बुटवल क्षेत्रमा तारेहोटल, रिसोर्ट तथा क्यासिनोसमेत सञ्चालनमा आएसँगै रुपन्देही प्रदेशकै प्रमुख पर्यटन तथा आतिथ्य केन्द्रका रूपमा उदाउँदै गएको सरोकारवालाको भनाइ छ । –––

प्रकाशित : ३० बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६