ठाडा, १ जेठ
अर्घाखाँचीको शितगंगा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम मार्फत नगरभित्रका ज्येष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालाई वार्षिक करोडौँ रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको तथ्य सार्वजनिक भएको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को समीक्षा प्रतिवेदन अनुसार शितगंगा नगरपालिकाले वार्षिक रूपमा कुल ५ हजार ७१ जनालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा तर्फ मात्रै नगरपालिकाले वार्षिक १८ करोड ३ लाख ७६ हजार ८ सय ६ रुपैयाँ खर्च गर्दै आएको उल्लेख गरिएको छ ।
तथ्यांक अनुसार सबैभन्दा बढी लाभग्राही ज्येष्ठ नागरिक अन्य समूहका रहेका छन् । यस अन्तर्गत २ हजार ६ सय ४२ जना ज्येष्ठ नागरिकले भत्ता प्राप्त गरिरहेका छन् । त्यसैगरी दलित ज्येष्ठ नागरिक ४ सय ९ जना रहेका छन् । एकल महिला तथा विधवा ९ सय ६९ जना लाभान्वित भएका छन् भने पूर्ण अशक्त अपांगता भएका १ सय ४८ जना र आंशिक अपांगता भएका २ सय ७२ जनाले सामाजिक सुरक्षा सुविधा पाइरहेका छन् ।
त्यस्तै दलित बालबालिका ६ सय ३१ जनाले पनि सामाजिक सुरक्षा भत्ताबाट लाभ लिइरहेका छन् । यसले नगरपालिकामा सामाजिक सुरक्षाको पहुँच बालबालिकादेखि ज्येष्ठ नागरिक सम्म विस्तार भएको देखाउँछ ।
सामाजिक सुरक्षा कार्यक्रमले आर्थिक रूपमा कमजोर, असहाय तथा संरक्षण आवश्यक समूहलाई न्यूनतम आर्थिक सहारा प्रदान गरेको स्थानीयवासीको भनाइ छ । विशेषगरी वृद्धा अवस्था, अपांगता तथा एकल महिलाको दैनिक जीवनयापनमा यस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पु¥याएको देखिन्छ ।
भौगोलिक रूपमा ठूलो क्षेत्रफल भएको शितगंगा नगरपालिकाले दुर्गम बस्तीका नागरिक सम्म सामाजिक सुरक्षा सेवा पु¥याउँदै आउनु स्थानीय सरकारको उत्तरदायित्व र सामाजिक समावेशिताको उदाहरणका रूपमा हेरिएको छ ।
सामाजिक सुरक्षा भत्तामा हुने ठूलो लगानीले नगरपालिकाको बजेटमा चुनौती थपिए पनि कमजोर वर्गको जीवनस्तर सुधार, सामाजिक संरक्षणको प्रत्याभूति तथा राज्यप्रतिको भरोसा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुहुन्छ प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा ।








प्रतिक्रिया