कपिलवस्तु ४ बैशाख । ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले नयाँ पुस्तालाई जनताको बहुदलीय जनवाद (जबज) प्रति आकर्षित गर्ने उद्देश्यले बृहत् अन्तरक्रियात्मक विचार गोष्ठी आयोजना गरेको छ। जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रममा युवापुस्ता, सूचना प्रविधि र वैचारिक रूपान्तरणका विषयमा विशेष छलफल गरिएको थियो।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सञ्चार प्रविधि विज्ञ भेषराज पाण्डेले बदलिँदो डिजिटल युगमा जबजलाई केवल सैद्धान्तिक सीमामा नराखी व्यवहारिक र अनुभवमा आधारित बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले विशेषगरी जेन्जी पुस्तालाई लक्षित गर्दै चारवटा प्रभावकारी विधि प्रस्तुत गर्नुभयो।
पाण्डेले पहिलो विधिका रूपमा “विचारलाई अनुभवमा रूपान्तरण” गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार नयाँ पुस्ताले भाषणभन्दा व्यवहारिक अभ्यास र प्रत्यक्ष अनुभूति मार्फत विचारलाई छिटो ग्रहण गर्ने भएकाले राजनीतिक प्रशिक्षणलाई जीवन उपयोगी र सिर्जनात्मक बनाउन आवश्यक छ।
दोस्रो विधिमा उहाँले “डेटा सञ्चालित सहभागिता” को अवधारणा अघि सार्नुभयो। युवाहरूको रुचि, आवश्यकता र सामाजिक प्रवृत्तिलाई तथ्यांकका आधारमा अध्ययन गरेर कार्यक्रम निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले आधुनिक सूचना प्रणाली, डिजिटल सर्वेक्षण र सामाजिक सञ्जाल विश्लेषणको प्रयोगमार्फत संगठनलाई जनतासँग अझ नजिक बनाउन सकिने बताउनुभयो।
तेस्रो विधिका रूपमा उहाँले “विचारलाई सूचनात्मक कथा” मा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो। जबजका सिद्धान्त, जनपक्षीय नीति र ऐतिहासिक योगदानलाई नयाँ पुस्ताले बुझ्ने शैलीमा भिडियो, छोटा कथा, डिजिटल सामग्री र सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्न सके प्रभावकारी हुने उहाँको भनाइ थियो।
त्यसैगरी चौथो विधिमा “सहभागितामूलक नीति तथा कार्यक्रम डिजाइन” लाई जोड दिँदै युवाहरूलाई केवल दर्शक होइन, नीति निर्माण प्रक्रियाकै सक्रिय सहभागी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यपत्र प्रस्तुतिका क्रममा उहाँले गेमिङ नमुना, कृत्रिम बौद्धिकता (एआई) तथा ChatGPT को प्रयोगमार्फत “नमूना जनवादी गाउँ” निर्माण गरी जनवादी अभ्यास सिकाउने नवीन विधिसमेत प्रस्तुत गर्नुभयो। उहाँले डिजिटल प्लेटफर्ममार्फत नीति निर्माण, जनसहभागिता र सामाजिक उत्तरदायित्वको अभ्यास गराउन सकिने उल्लेख गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय नेता गिर्धारीलाल न्यौपाने ले अब एमालेले जेन्जी पुस्तामाझ बलियो पकड बनाउने दाबी गर्नुभयो। उहाँले बदलिँदो राजनीतिक परिवेशमा युवा पुस्ताको सोच, प्रविधि र सहभागितालाई आत्मसात गर्दै पार्टी अघि बढिरहेको बताउनुभयो।
त्यसैगरी एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनाल ले एमाले कपिलवस्तु नयाँ गति, नयाँ ऊर्जा र आधुनिक प्रविधिसहित अगाडि बढिरहेको स्पष्ट पार्नुभयो। उहाँले संगठनलाई डिजिटल रूपमा सक्षम र वैचारिक रूपमा सुदृढ बनाउने अभियान जारी रहेको बताउनुभयो।
पूर्व जिल्ला अध्यक्ष दम्मर शर्मा ले एमाले नयाँ उत्साहका साथ पुनः उठेपछि देश परिवर्तनको आधार बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्लाभरबाट दुई सयभन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ पुस्तामाझ जबजलाई व्यवहारिक, प्रविधिमैत्री र आकर्षक रूपमा विस्तार गर्न यस्ता अन्तरक्रियात्मक कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।
४ जेष्ठ २०८३, सोमबार









प्रतिक्रिया