अन्तर्राष्ट्रिय

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु



ओटावा, ४ जेठ (रासस/सिन्ह्वा) :

क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश कोलम्बियामा आइसोलेसनमा रहेका एक क्रुज यात्रु हुन् । पीएचएसीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ब्रिटिश कोलम्बियाबाट संकलन गरिएका नमूनाहरू पुष्टि परीक्षणका लागि विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो । प्रयोगशाला परीक्षणपछि एक व्यक्तिमा शनिबार हान्ताभाइरस संक्रमण पुष्टि भएको एजेन्सीले जनाएको छ । सङ्क्रमित व्यक्तिसँगै यात्रा गरेका अर्का व्यक्तिको परीक्षण भने नेगेटिभ आएको छ । हालसम्म थप सङ्क्रमित फेला नपरेको जनाइएको छ । पीएचएसीका अनुसार, उच्च जोखिममा रहेका सम्पर्कहरू आइसोलेसनमा छन् र स्थानीय स्वास्थ्य अधिकारीहरूले उनीहरूको निरन्तर निगरानी गरिरहेका छन् । साथै, क्यानडाको सर्वसाधारण जनतामा हालका लागि संक्रमणको जोखिम कम रहेको एजेन्सीले स्पष्ट पारेको छ । यो सङ्क्रमण ध्रुवीय क्षेत्रमा भ्रमण गर्ने ‘एमभी होन्डियस’ नामक अभियानात्मक क्रुज जहाजमा देखिएको हो । यस प्रकोपका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार, हान्ताभाइरसको इन्क्युबेशन अवधि सामान्यतया एकदेखि आठ सातासम्म हुन सक्छ । यो भाइरस प्रायः संक्रमित मुसा वा अन्य कृन्तक जनावरको पिसाब, दिसा वा र्‍यालसँग सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ । हान्ताभाइरस संक्रमणले ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका गम्भीर लक्षण निम्त्याउन सक्छ । गम्भीर अवस्थामा यसले फोक्सो र मुटुमा असर पुर्‍याएर ज्यानसमेत लिन सक्छ ।

प्रकाशित : ४ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६