भरतपुर, ५ जेठः चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ः०० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । मृत बालबालिकाका बुबाआमा भने सकुशल छन् । दुई वालबालिकाको दाहसंस्कार भइसकेको छ भने आज मृत्यु भएका बालिकाको शव बुझ्ने तयारी भइरहेको प्रअ मगरले जानकारी दिनुभयो ।
५ जेष्ठ २०८३, मंगलबार









प्रतिक्रिया