कोशी

क्रियाशील पत्रकारलाई ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम



खोटाङ, ५ जेठ

नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरूलाई सहभागी गराएर ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी पाँचदिने तालिम सुरु गरेको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पत्रकार महासङ्घ खोटाङले आजदेखि जेठ ९ गतेसम्म पाँचदिने पत्रकारिता तालिमको आयोजना गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित गर्दै ‘डिजिटल’ पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरिएको आयोजक पत्रकार महासङ्घ खोटाङका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिनुभएको छ । “हामी पत्रकारहरू औपचारिकतामा सीमित भयौँ । समाजमा लुकेर रहेका धेरै विषयवस्तुहरू हामीले उजागर गर्नुछ”, उहाँले भन्नुभयो, “जिल्लामा क्रियाशील पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित गर्दै डिजिटल पत्रकारितामा दक्ष बनाउन तालिमको आयोजना गरेका हौँ । यो तालिमले आवाजविहीनहरूको आवाज बुलन्द गर्न ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।” दिक्तेल बजारस्थित होटल शुभदिनमा सुरु गरिएको पत्रकारिता तालिममा जिल्लामा क्रियाशील ३० जना पत्रकारहरूको सहभागिता पत्रकार महासङ्घ खोटाङका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिनुभएको छ । तालिममा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षद्वय सुरेश आचार्य र शिव गाउँलेले खोज पत्रकारिता तथा विकास कार्कीले मल्टिमिडियाका बारेमा सहजीकरण गरिरहनुभएको छ । पाँचदिने पत्रकारिता तालिमको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले गर्नुभएको छ । पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा जिल्लास्थित पत्रकारहरूको विभिन्न पेसागत सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । “पत्रकार समाजका पहरेदार हुन् । हामीले गरेका राम्रा तथा नराम्रा सबै विषय समाजमा पुर्‍याउनु पत्रकारको धर्म हो,” उहाँले भन्नुभयो, “एउटा जनप्रतिनिधिले गरेका राम्रो कामले अरूलाई प्रशय मिल्छ । नराम्रा कुराले दण्डित गर्न सहयोग मिल्छ । त्यसैले सत्य, तथ्य र निष्पक्ष भएर कमल चलाउन सबै पत्रकारहरूलाई आग्रह गर्छु ।” पत्रकारिता तालिममा छापा, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको सक्रिय सहभागिता रहेको छ । नेपालमा डिजिटल युग सुरु भएको अवस्थामा नेपाल पत्रकार महासङ्घ खोटाङले मल्टिमिडियासम्बन्धी तालिमको आयोजना गरेकाले आफूहरू उत्साहित बनेको सहभागी पत्रकारहरूले बताएका छन् ।

प्रकाशित : ५ जेष्ठ २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६