अर्थ-वाणिज्य

२ वर्षभित्र आत्मनिर्भर वन बनाउने लक्ष्य

विकास, संरक्षण र पर्यापर्यटनमा मायादेवीको जोड



लक्ष्मण प्रसाद बेल्बासे

कपिलवस्तु, बाणगंगा ८ जेठ

मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यापर्यटन विकास तथा आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राख्दै दीर्घकालीन विकास योजनाहरू अघि सारिएको जनाएको छ । साझेदारी बनका अध्यक्ष दिनेश प्रसाद कलवार जयसवालले आगामी दुई वर्षभित्र वनलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित बहुआयामिक योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिएका छन्।


अध्यक्ष जयसवालले मायादेवी साझेदारी वनलाई स्थानीय क्षेत्रको प्राकृतिक सम्पदा मात्र नभई आर्थिक, सामाजिक तथा वातावरणीय विकासको आधारका रूपमा विकास गर्न आवश्यक रहेको बताए। वन संरक्षण र संवद्र्धनमा उपभोक्ता, स्थानीय सरकार तथा सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।
उनले बाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकासँगै कपिलवस्तु जिल्लाको समग्र विकासमा वनले महत्वपूर्ण योगदान पु¥याउन सक्ने उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय सरकारसँग वन विकासका योजनामा थप सहयोग र साझेदारीको आग्रह गरे।


अध्यक्ष जयसवालका अनुसार वन व्यवस्थापनलाई योजनाबद्ध ढंगले अघि बढाउन कार्ययोजना निर्माणको काम सम्पन्न भइसकेको छ। जल संरक्षण तथा वन्यजन्तुको पानी व्यवस्थापनका लागि जलाशय र पोखरी निर्माण, आन्तरिक सौन्दर्यीकरण, सौर्यबत्ती तथा सिसी क्यामरा जडान, जोखिममा रहेका वन्यजन्तुको संरक्षण केन्द्र स्थापना, सुविधा सम्पन्न सभाहल तथा प्रशासनिक भवन निर्माण लगायतका योजना अघि बढाइएको जानकारी दिइयो।
अध्यक्ष जयसवालले मायादेवी साझेदारी वनलाई वन व्यवस्थापनको परम्परागत ढाँचाभन्दा बाहिर निकालेर पर्यापर्यटन र आयआर्जनसँग जोड्ने रणनीति अपनाइएको बताए। उनका अनुसार वन क्षेत्रभित्र इको पार्क निर्माणलाई प्राथमिकतामा राखिएको छ भने निर्माण गरिएको भ्यू टावर पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ।
वनलाई अध्ययन तथा अनुसन्धानको केन्द्रका रूपमा समेत विकास गर्न खोजिएको जनाउँदै अध्यक्ष जयसवालले “वन विद्यार्थीहरूको पाठशाला बन्न थालेको छ,” भने। उनले संरक्षण र विकाससँगै शैक्षिक उपयोगितालाई समेत जोड दिइएको उल्लेख गरे।
गत वर्ष वन क्षेत्रमा ९४ हजार नयाँ बिरुवा रोपिएको र तीमध्ये करिब ७० प्रतिशत बिरुवा सफलतापूर्वक हुर्किएको जानकारी दिँदै बाँकी ३० प्रतिशत क्षेत्र यस वर्ष पुनः वृक्षारोपण गरिने अध्यक्ष जयसवालले बताए। वृक्षारोपणसँगै संरक्षण र व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको उनको भनाइ थियो। वन क्षेत्रभित्र आयमूलक कार्यक्रम सञ्चालन गरी वनलाई आर्थिक रूपमा बलियो बनाउने रणनीति समेत अघि सारिएको छ। यसअन्तर्गत निम्बु, मरोगा, हर्रो, बर्रो तथा कालो बेसार खेती जस्ता वन उद्यम कार्यक्रम सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरिएको छ।
कार्यक्रममा समूहका प्रवक्ता तथा लेखा संयोजक राकेश यादवले वनको आर्थिक सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए। वन उद्यम र राजस्व वृद्धिका कार्यक्रम मार्फत वनलाई व्यवहारमै आत्म निर्भर बनाइने उनको दाबी थियो। साथै वनभित्र सिर्जना हुने रोजगारी र उद्यमशीलताले वैदेशिक रोजगारीका कारण भइरहेको युवा पलायन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वनको संरक्षण, विकास र आर्थिक गतिविधिबीच सन्तुलन कायम गर्दै मायादेवी साझेदारी वनलाई नमूना वनका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए। वनको दीर्घकालीन संरक्षणका लागि उपभोक्ता र सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको वनका लेखा समिति संयोजक राकेश यादवको भनाइ रहेको छ ।
वन व्यवस्थापन, संरक्षण र आर्थिक गतिविधिलाई एकसाथ अघि बढाउने योजना सहित मायादेवी साझेदारी वनले आगामी दिनमा स्थानीय विकास र पर्यावरणीय सन्तुलनमा थप भूमिका खेल्ने अपेक्षा गरिएको लेखा संयोजक एवम् प्रर्वक्ता राकेश यादवको प्रतिक्रिया रहेको छ।

प्रकाशित : ८ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६