अन्तर्राष्ट्रिय

काठमाडौँमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु



काठमाडौँ, ९ जेठ

काठमाडौँको लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ । एक सातासम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्नुहुँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले लाखौँ पैसा तिरेर विदेशी सङ्ग्रहालयमा हेर्नुपर्ने कला यहाँ निःशुल्क हेर्न पाउनु नेपालीका लागि महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । विश्वमा कला र कलाकारको महत्त्व ठूलो रहेको स्मरण गर्दै कलाकार मानन्धरले नेपालमा अझै त्यसखालको महत्त्व बुझाउन नसकिएको बताउनुभयो । उहाँले आफूले कला सिक्नका लागि बुबाबाट सात हजार ठगेर बनारस गएको स्मरण गर्दै अहिले भने कलालाई हेर्ने दृष्टिकोण केही सुधार भएको बताउनुभयो । आफ्नो पालामा चित्र बनाउन पनि परिवारले नदिने अवस्था रहेको उहाँले सुनाउनुभयो । अर्का अग्रज कलाकार राधेश्याम मुल्मीले कलामा विश्वमा उच्च सम्मान हुने गरेको र नेपालमा पनि सम्मान बढ्न थालेको बताउँदै चित्रकलाको मूल्य कहिल्यै नघट्ने अनुभव सुनाउनुभयो । उहाँले कला सिक्न आएका बालबालिकाहरूलाई कला साधनामा लाग्न सुझाव पनि दिनुभयो । अरूपण आर्ट ग्यालरीका प्रमुख अग्रज कलाकार रमेशनाथ खनालले यहाँ प्रस्तुत भएका सिद्धहस्त कलाकारका ३० वटा सिर्जना हरेकका एउटा/एउटा वाद र अभियान रहेको उल्लेख गर्दै यी चित्रहरू नेपालमा हेर्न पाउनु नै ठूलो कुरा भएको बताउनुभयो । उहाँले आफ्नो परिवार अमेरिका घुम्न जाँदा त्यहाँबाट लिएर आएको कला नेपालमा प्रदर्शन गरिएको जानकारी दिनुभयो । यहाँ युरोपका फ्रान्स, जर्मनी, बेल्जियम, बेलायत, स्पेन, डच, नर्वेलगायत देशका मिलेट, पौल, लुइस डेभिट, गोया, टर्नर, भिन्सेन्ट भान गग, जे विलन गोडवार्ड, गोयालगायत कलाकारका चित्रहरू रहेका छन् । उक्त ग्यालरीमा पिकासो र फिदा काहलोका चित्र यसअघि नै प्रदर्शन भइसकेको छ । ग्यालरीकी कार्यकारी निर्देशक रीता खनालले अरूपन आर्ट ग्यालरीका आगामी कार्यक्रममाथि प्रकाश पार्दै अमेरिका, बेलायत अष्ट्रेलियाका ठूला कला ग्यालरी हेरेर फर्किंदा धेरै गर्न बाँकी रहेको महसुस भएको सुनाउनुभयो । यहाँ प्रदर्शनीमा विश्वचर्चित १९ जना कलाकारका ३० थान चित्र रहेका छन् । लस एन्जल्सको ‘द जे पल गेटी म्युजियम’मा सङ्ग्रहित रहेका कलाहरू त्यहाँबाट कलाकार खनालले सङ्कलन गरी यहाँ प्रदर्शन गर्नुभएको हो । कार्यकारी निर्देशक खनालले भन्नुभयो, “यी चित्र विभिन्न समयमा बनाइएका र एकएक पढ्न सकिनेछन् साना छन्, तर महत्वपूर्ण छन्, ठूला ग्यालरी सबैले हेर्न सक्दैनन् । त्यसैले ती ग्यालरीका चित्रहरू एकै ठाउँमा हेर्न सकियोस् भनेर सङ्कलन गरेर ल्याएका हौँ । यसले १९औँ शताब्दीमा युरोपमा भएका कलाका अभियानबारे थाहा पाउन सकिनेछ ।” उक्त प्रदर्शनी यही जेठ १६ गतेसम्म चल्ने छ ।

प्रकाशित : ९ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६