अर्थ-वाणिज्य

‘गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने’



बागमती, ११ जेठ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताउनुभएको छ । आजदेखि सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनमा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएकाले गरिबलाई गरिखाने किसिमको नीति, कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेश सरकारले गरिब, किसानको पक्षमा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उहाँले कुनै दलको नभई सबै राजनीति दलको साझा नीति, कार्यक्रम र बजेट आउने बताउनुभयो । प्रदेश सरकारका शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानीसम्बन्धी गौरवका आयोजनालाई आगामी वर्षमा प्राथमिकता दिने भन्दै मुख्यमन्त्री बानियाँले सुशासन प्रवर्द्धनका लागि प्रदेश सरकारले ठोस चालेको बताउनुभयो । प्रदेश सरकार सहमति, सहकार्य र सहअस्तित्वको आधारमा सङ्घीय सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय संसद्का सांसदहरूका स्वकीयहरुको सुविधा कटौती नहुने तर प्रदेशसभाका सांसदहरूको स्वकीय सुविधा कटौती हुनु विभेद भएको टिप्पणी गर्नुहुँदै मुख्यमन्त्री बानियाँले सङ्घीय सांसदको सुविधा कायम रहे प्रदेश सांसदको स्वकीय सुविधा कायम गर्नुपर्ने बताउनुभयो । पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले जनताको आवश्यकताअनुसार नीति, कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो । प्रदेशसभाको सभामुख रिक्त भएको लामो समयसम्म चयन हुन नसकेकाले उहाँले तत्काल चयन प्रक्रिया अघि बढाउन माग गर्नुभयो । प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका उपनेता रामकृष्ण चित्रकार, प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवनकुमार पाठक, नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले आ–आफ्नो धारणा राख्नुभएको थियो । यस्तै आजको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही जेठ १२ गते बिहान ११ः०० बजे बस्नेछ ।

प्रकाशित : ११ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६