ब्रेकिंग न्युज

नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला



कञ्चनपुर, १२ जेठ ः बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वका मेला लागेको छ । मङ्गलबार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला बुधबार साँझसम्म जारी रहनेछ । मेलामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन धार्मिक क्षेत्रमा पुगेका छन् । हरेक वर्ष जेठको शुक्लपक्षको गङ्गादशहरा पर्वका अवसरमा यहाँ भव्य मेला लाग्ने परम्परा छ । नक्टाबाबा (कालेश्वर) मन्दिरमा सच्चा मनले पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावको प्रतीकका रूपमा परिचित यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीले विशेष आस्थाका साथ हेर्ने गरेका छन् ।स्थानीय बिन्तीराम चौधरीका अनुसार नक्टाबाबा क्षेत्र प्राचीनकालदेखि तपस्या तथा साधनास्थलका रूपमा परिचित रहँदै आएको छ । दोदा नदीको तटीय क्षेत्रमा रहेको कालेश्वर महादेवको पूजा–आराधना गरे रोगव्याधि हट्ने, परिवारमा सुखशान्ति कायम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको उहाँ बताउनु हुन्छ ।गङ्गादशहरा पर्वका अवसरमा मन्दिर क्षेत्रमा विशेष पूजा, भजनकीर्तन, धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । मेलामा व्यापारिक कारोबारका लागि टाढाटाढाबाट व्यापारी पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार खाना, सांस्कृतिक वस्तुहरु, व्यापारिक प्रयोजनका पसल मन्दिर परिसर क्षेत्रमा राखिएका छन् ।मेलालाई मध्यनजर गर्दै बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले जेठ १२ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । 

प्रकाशित : १२ जेष्ठ २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६